• फाल्गुन २३ २०८२, शनिबार

ऋणका कारण फ्रान्समा प्रधानमन्त्री बायरूको सरकार ढल्ने सम्भावना

भाद्र १० २०८२, मंगलवार

काठमाडौं । फ्रान्समा प्रधानमन्त्री फ्रान्कोइस बायरूको अल्पमतको सरकार अपदस्थ हुनसक्ने सम्भावना बढ्दै गएपछि नयाँ राजनीतिक सङ्कटको चिन्ता बढेको छ । अर्को महिना संसदमा हुने विश्वास मतअघि सत्ता पक्षमाथि ठूलो दबाब देखिएको छ ।

प्रधानमन्त्री बायरूले सोमबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई सेप्टेम्बर ८ मा संसदको शत्र बोलाउन आग्रह गरेको बताएका थिए । उनलाई बढ्दो सार्वजनिक ऋण कटौतीका लागि संसदीय समर्थन आवश्यक छ । तर, दक्षिणपन्थीदेखि कट्टर वामपन्थीसम्मका दलहरूले बजेट कटौतीलाई समर्थन नगर्ने बताएका छन् ।

सेप्टेम्बर १० मा तोकिएको विरोध प्रदर्शन र अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनद्वारा संसद् विघटनको आह्वानले राजनीतिक अस्थिरता थप बढाएको छ । मङ्गलबार फ्रान्स अनबोड पार्टीका प्रमुख जिनलुक मेलेनचोनले बायरू असफल भए म्याक्रोनले नै राजीनामा दिनुपर्ने दबाब दिए ।

सन् २०२७ मा म्याक्रोनको दोस्रो कार्यकाल समाप्त हुने भएकाले राजनीतिक प्रतिस्पर्धा तीव्र बनेको छ । म्याक्रोनले कार्यकाल पूरा गर्ने दाबी गरे पनि बायरूको सरकार अस्वीकार भयो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्ने अवस्था आउनेछ । यसले बाँकी दुई वर्षमा राष्ट्रपतिको जनादेशमा ठूलो प्रभाव पार्ने आकलन गरिएको छ ।

बायरूले सन् २०२६ जुलाईमा सार्वजनिक खर्च कटौतीसहित करिब ४४ अर्ब युरो बचत गर्ने योजना प्रस्तुत गरेका थिए । तर, यी कदमहरू अलोकप्रिय भएका छन् । विशेषज्ञहरूका अनुसार बायरूले विश्वास मतमा जाने निर्णय आफ्नो राजनीतिक भविष्यलाई नै जोखिममा राख्ने कदम हो ।