• फाल्गुन २३ २०८२, शनिबार

हिन्दु नारीहरुको महान पर्व : हरितालिका तीज

भाद्र ९ २०८२, सोमबार

काठमाडौं । आज हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज देशभर मनाईदै छ । देशभर हर्स उल्लासमय माहोल सुरु भएको छ । विशेषगरी काठमाडौंका मन्दिर, बजार र गल्लीहरू रातो–हरियो लुगा, चुरा र पोतेलेमा सजिएका महिलाले भरिएको छ । तीज केवल धार्मिक पर्व मात्र नभई नारीहरूको सामाजिक, सांस्कृतिक र आध्यात्मिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण उत्सवका रूपमा रहेको एक पर्व हो ।

धार्मिक मान्यताअनुसार देवी पार्वतीले कठोर तपस्या गरेर भगवान् शिवलाई वर पाएकी थिइन् भन्ने विश्वास रहेको पाईन्छ । त्यसैको सम्झनामा तीजको दिन महिलाले कठोर व्रत बसेर शिव–पार्वतीको पूजा आराधना गरे मनले चाहेको पुरा हुँने विश्वास रहेको छ । काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर, गुह्येश्वरी लगायतका शिव मन्दिरहरूमा आज भक्तजनहरूको ठूलो भीड लागेको छ । महिलाहरू बिहानैदेखि लाएनमा उभिएर पूजा गर्ने र व्रत बस्ने परम्परा रहेको छ । यस व्रतले दाम्पत्य जीवनको सुख, परिवारको दीर्घायु र समृद्धि हुँने विश्वस रहेको पाईन्छ ।

तीजले सामाजिक र सांस्कृतिक जीवनमा विशेष स्थान राखेको पाईन्छ । देशभरका बाटो, गल्ली–टोलमा नाचगान, दर खाने, र साथीभाइबीचको भेटघाटले वातावरण रमाइलो बनाएको छ । तीजका गीतहरूले नाचगानकै सौन्दर्य मात्र होइन, महिलाहरूको भावना, पीडा र रहरको पनि अभिव्यक्ति गरेको पाईन्छ । तीजका गीत–नाचगानहरू मार्फत महिलाहरूले समाजमा रहेका असमानता, महिला अधिकारका विषय र आफ्ना दुःखद अनुभवहरू गीतमाफ्‌त व्यक्त गरेका छन् ।

तीजले देशभरका महिलाहरुबीच आत्मीयता र सामाजिक एकताबद्ध हुने माध्यमको रूपमा पनि काम गरेको छ । आ–आफ्ना गाउँघर छोडेर उपत्यकामा बसोबास गर्ने धेरै महिलाका लागि तीज घर–परिवारसँग भेटघाट गर्ने र संस्कारसँग जोडिने अवसर बनेको छ । तीजका गीत र नृत्यले महिलालाई अभिव्यक्तिको स्वतन्त्रता दिन्छ भने दर खाने परम्पराले सामाजिक मेलमिलापको वातावरण सिर्जना गर्छ ।

अघिल्लो पुस्ताको तुलनामा अहिलेको तीजले नयाँ रूप पनि लिएको छ । काठमाडौंमा आधुनिक तीज केवल पूजा–पाठमा सीमित नभई महिला अधिकारका विषयमा जागरण ल्याउने पर्वका रूपमा पनि लिईन्छ । यसरी तीजले नारीहरूको आवाजलाई सामाजिक–राजनीतिक चर्चामासम्म पुर्‍याउने काम गरेको पाईन्छ ।

यसरी मनाइने हरितालिका तीज केवल धार्मिक विश्वस मात्र नभई नारीको संस्कार, सामाजिक जीवन र अधिकार चेतनासँग गाँसिएको पर्व हो । व्रत, पूजा, नृत्य, गीत र सांस्कृतिक मिलनमार्फत तीजले महिलाको आस्था, आत्मबल र सामाजिक एकतालाई प्रष्ट गर्दछ । यही कारणले यस पर्वलाई महिलाको महान् पर्वको रूपमा सम्मानपूर्वक मनाइँदै आएको पाईन्छ ।