काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आजबाट सुरु भएको छ । तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा आज महिलाहरू दर खाने तयारीमा छन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ ।
विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलीलाई बोलाएर वा लिन गई दर खुवाउने परम्परा छ । दिदीबहिनी जम्मा भई रातिसम्म नाच गानगरी रमाइलो गर्ने र घरमा उपलब्ध भएका खानेकुरा खाने गर्दछन् । कर्म घरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।
देशभरका हिन्दु नारी तथा दिदीबहिनीहरू हर्स र उल्लासका साथ दर खाई भोलीको तीजको कठोर व्रत बस्ने तयारीमा जुटेका छन् । आजको दर खाने दिनलाई केवल खानपानमा मात्र सीमित नराखी, यसलाई सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक दृष्टिले पनि धेरै गहिरो महत्व रहेकोछ । महिलाहरूले दुध, दही, सेल–रोटी, मिठाई, फलफूल, मासु लगायतका परिकार खाई शक्ति संचित गर्दछन् । भोलिपल्ट दिनभर व्रत बस्नुपर्ने भएकाले दरलाई ‘ऊर्जाको भण्डार’का रूपमा लिने गरेको पाईन्छ ।
यस दिन टाढाटाढाबाट दिदीबहिनीहरु माइतमा भेला हुने परम्परा अझैसम्म पनि कायम रहेकोछ । दर खाने दिनले परिवार र नातेदारबीच भेटघाट, सद्भाव र आत्मीयता बढाउने अवसरको रुपमा लिईन्छ । महिलाहरू दर खाँदै नाचगान र रमाइलोमा सहभागी हुने गर्दछन् । यसरी दर खाने संस्कृतिले सामाजिक सम्बन्धलाई झनै मजबुत बनाउने काम गरेको पाईन्छ ।
समाज परिवर्तनसँगै दर खाने दिनको रूपमा पनि केही भिन्नता आएको छ । अघिल्ला पुस्ताहरुले मुख्य धार्मिक रूपमा मनाउँदै आएको यो दिन अहिले मनोरञ्जन, आत्मीय भेटघाट र महिलाको साझा उत्सवका रूपमा विस्तार हुँदै आएको पाईन्छ । विशेष गरी शहरी क्षेत्रमा महिलाहरू समूह र संघसंस्थामार्फत सामूहिक रुपमा दर खाने कार्यक्रम बढदै गैरहेको पाईन्छ ।
दर खाने दिन केवल तीजको अघिल्लो दिन मात्र होइन, यो महिलाको शक्ति संचित गर्ने तयारी, सामाजिक सम्बन्ध मजबुत बनाउने अवसर र नेपाली समाजको सांस्कृतिलाई बचाउने एक माध्यम पनि हो । परम्परा र आधुनिकताबीचको सन्तुलन मिलाउँदै लैजाने यस दिनलाई अझै उत्साहित र समृद्ध बनाउनु हामी सबैको साझा जिम्मेवारी हो ।