सिमरा । पर्साको वीरगन्जमा समुदायस्तरमै हैजा फैलिएपछि परवानीपुर गाउँपालिकाले रोगको जोखिम न्यूनीकरणका लागि आपतकालीन बैठक बोलाएको छ । बैठकमा गाउँपालिकाले सम्भावित जोखिम न्यून पार्न सक्रियता देखाउँदै विभिन्न निर्णयहरू समेत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडाध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, एलएस न्युरो अस्पतालका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायत सरोकारवालाहरू उपस्थित थिए ।
बैठकमा वीरगन्जमा तीव्र गतिमा फैलिरहेको हैजाले परवानीपुर क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले रोकथाम र नियन्त्रणका उपायहरूबारे छलफल भएको थियो । बैठकपछि जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत रौनियारले हैजा नियन्त्रणमा पालिका उच्च सतर्क अवस्थामा रहेको बताए ।
रौनियारका अनुसार पालिकाभित्रका सबै वडामा स्वास्थ्य अवस्था र सरसफाइको नियमित निगरानी गर्न प्रत्येक वडामा एउटा अनुगमन समिति र पालिकास्तरमै एउटा केन्द्रीय अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । समितिहरूले घर–घरमा पुगेर जनचेतना अभिवृद्धि गर्ने, पानी तथा खाद्य सामग्रीमा स्वच्छता कायम गर्न सचेतना कार्यक्रम सञ्चालन गर्ने, साथै आकस्मिक अवस्थामा छिटो स्वास्थ्य उपचार सुनिश्चित गर्ने काम गर्ने रौनियारले बताए ।
बैठकले विद्यालयमार्फत विद्यार्थी र अभिभावकलाई हैजा सम्बन्धी जानकारी दिने, सरसफाइमा कडाइ गर्ने, सुरक्षित खानेपानी प्रयोग गर्न आग्रह गर्ने लगायतका योजना अगाडि सार्ने निर्णय गरेको छ ।