• फाल्गुन २९ २०८२, शुक्रबार

रोहाङ प्रि-स्कुल एण्ड मन्टेस्वरी टिचर ट्रेनिङ सेन्टरद्वारा १० दिने उद्घोषण तथा भाषण कला तालिम सुरु

भाद्र ६ २०८२, शुक्रबार

काठमाडौं — रोहाङ प्रि-स्कुल एण्ड मन्टेस्वरी टिचर ट्रेनिङ सेन्टरको आयोजनामा तथा गोल खबरको सहजीकरणमा १० दिने उद्घोषण तथा भाषण कला तालिमको सुरुवात भएको छ।

तालिमको उद्घाटन संस्थाकी सञ्चालिका बुद्धिमाया पुन मगरको सभापतित्वमा र समता विपश्यना ध्यान केन्द्रका प्रमुख गुरु डा. कर्मा स्याङ्बोको प्रमुख आतिथ्यतामा गोल खबरको कार्यालयमा सम्पन्न गरिएको हो।

उद्घाटन सत्रमा बोल्दै गुरु डा. स्याङ्बोले शिक्षा मात्र पर्याप्त नभई व्यक्तित्व विकासका लागि उद्घोषण र भाषण कला अपरिहार्य रहेको बताए। उनका अनुसार क्षमता भएर पनि आफ्ना विचार प्रस्तुत गर्न नसक्दा धेरै युवा पछाडि पर्न बाध्य हुने भएकाले यस्तो तालिम महत्त्वपूर्ण हुने उल्लेख गरे।

“उद्घोषण तथा भाषण कला सिक्न सक्दा आर्थिक, बौद्धिक र नैतिक तीनै क्षेत्रमा फाइदा पुग्छ,” उनले भने। कार्यक्रममा विशेष अतिथिका रूपमा बौद्ध जागरण संघका अध्यक्ष काइला लामा, समाजसेवी तथा गोल खबरका निर्देशक वीर सिंह घले, संघका कोषाध्यक्ष भिम लामा लगायतको उपस्थिति रहेको थियो।

१० दिने तालिममा प्राध्यापक आशाकाजी महर्जनले प्रशिक्षण दिनेछन् भने गुरु काइला लामाले ध्यान कक्षा सञ्चालन गर्नेछन्। सहायक प्रशिक्षकका रूपमा बुद्धिमाया पुन मगर रहनेछिन्।

कार्यक्रमका सभापति पुन मगरले संसार बोल्नेहरूको मुठीमा रहेको उल्लेख गर्दै केही गर्न चाहनेलाई सबलीकरण गर्न तालिम आयोजना गरिएको बताए। गुरु काइला लामाले स्वस्थ जीवन र ज्ञानमा निखार ल्याउन ध्यान आवश्यक रहेको धारणा राखे। कार्यक्रम कलाकार रोमु भुजेलले सञ्चालन गरेका थिए।