काठमाडौँ । उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् ।
उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परिवारहरूसँग रात्रिभोज आयोजना गरिएको रिपोर्ट गरेको छ ।
यस समारोहमा किमले विदेशी अपरेशनमा संलग्न सैनिकहरूलाई सम्मान गर्दै भने– ’हाम्रो सेनाले देशको शक्ति प्रमाणित गरेकोमा कुनै शंका छैन ।’
यसअघि बिहीबार किमले विदेशी अपरेशनका अधिकारीहरूलाई भेटेर युक्रेनमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उत्तर कोरियाली सांसदहरूका अनुसार रुसको लागि लड्दा लगभग ६०० सैनिक मारिएको बताइएको छ । रुसको पक्षमा युक्रेन युद्धमा कुल १५ हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ ।