• फाल्गुन २४ २०८२, आईतवार

अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु

भाद्र ४ २०८२, बुधबार

काठमाडौँ । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बालबालिका रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इरानबाट उद्धार गरिएका अफगान आप्रवासीहरू बोकेको बस आगलागी भएको बताइएको छ ।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए । बसमा रहेका सबैको मृत्यु भयो र यससँगै ठोक्किएका दुई सवारी साधनमा रहेका दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।

हालैका महिनाहरूमा, इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेका अफगानहरूलाई निष्कासन गर्ने प्रक्रिया बढाएको छ ।

१९७० को दशकदेखि लाखौं अफगानीहरू इरान र पाकिस्तान भागेका थिए । यसमा १९७९ मा अफगानिस्तानमा सोभियत संघको आक्रमण र २०२१ मा तालिबान सत्तामा फर्किएपछि ठूलो संख्यामा मानिसहरू इरान गएका थिए ।

पछिल्लो समय इजरायलको इरानमाथिको आक्रमणपछि अफगानीहरुले इजरायलका लागि जासुसी गरेको पाइएपछि इरानले अफगानीहरुलाई देश निकाला गर्ने अभियाननै चलाएको छ ।