काठमाडौं । नेपालका भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन् ।
लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो । यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ ।
यो अवसर नेपाल पर्यटन यात्राका लागि महत्वपूर्ण पहल भएको पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले बताए ।
‘नेपाल पर्यटन बोर्ड र टिकटकबीच प्रभावकारी सहकार्य सुरु भएको छ । यो केवल एउटा सम्झौता मात्र नभई नेपाललाई विश्वसामु प्रभावकारी, आकर्षक र टाढासम्म पुर्याउने प्रतिबद्धता हो,’ उनले भने ।
बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन् । यस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ ।
अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन् । यसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्ने बोर्डको विश्वास छ ।
बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरूलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ ।
बोर्डले अभियानका क्षण र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्नेछन् ।