• फाल्गुन २६ २०८२, मंगलवार

महिला संघ क्रान्तिकारीद्वारा तीज गीत प्रतियोगिता सम्पन्न

भाद्र १ २०८२, आईतवार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिद्वारा प्रगतिशील तीज गीत विशेष प्रतियोगिता सम्पन्न भएको छ। नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीजको अवसरमा राजधानीमा भएको कार्यक्रममा पाँच सयभन्दा बढी महिलाको उपस्थिति रहेको थियो।

प्रतिमा गहतराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा महिला विभाग प्रमुख शशि श्रेष्ठ प्रमुख अतिथि थिइन्। उनले तीजमा प्रायः नाचगान हुने भए पनि इतिहास र चेतना झल्किने कार्यक्रम गरेको भन्दै आयोजकलाई बधाई दिइन्। कार्यक्रम छोटो तयारीमै उत्कृष्ट भएको र महिलाको सहभागिता उत्साहजनक रहेको संगठनकी सचिव जुना मगरले जानकारी दिइन्।

उनका अनुसार कार्यक्रम सफल बनाउन समन्वय इन्चार्ज यशोदा सुबेदी, कमला दोङसहित प्रदेश र जिल्ला तहका पदाधिकारीले उल्लेख्य योगदान गरेका थिए। सातै प्रदेशबाट तोकिएका विषयवस्तुका आधारमा प्रस्तुति दिने टोलीहरू सहभागी भएका थिए। उत्कृष्ट ठहरिएकालाई प्रमुख अतिथिमार्फत सम्मान र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।