• फाल्गुन २६ २०८२, मंगलवार

रविलाई ल्याइयो नख्खु कारागार, वरपर समर्थकको भिड

श्रावण ३१ २०८२, शनिबार

काठमाडौं । रूपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिएको छ ।

उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए ।
‘उहाँलाई अरू साथीहरू जसरी बसेका छन्, त्यसरी नै राखिएको छ । ढिलो पनि भयो, राति भयो छुट्टै ब्लकमा राखिएको छैन,’ उनले भने, ‘अहिलेलाई मिलेर बस्न भनेका छौं ।’

उनलाई सिआरसी ब्लकमा राखिएको जेलर कोइरालाले बताए । उनका अनुसार त्यहाँ ४२२ कैदीबन्दी छन् ।

शनिबार रविलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै नख्खु कारागार पुर्‍याइएको थियो । नख्खु कारागारमा पुर्‍याउँदा बाहिर कार्यकर्ता र शुभचिन्तकहरूको भिड थियो ।

लामिछानेलाई ल्याइने जानकारी पाएपछि दिउँसैदेखि नख्खु कारागार कार्यालय आसपास कार्यकर्ताहरू जम्मा भएका थिए ।

लामिछानेलाई पुर्‍याइएपछि कार्यकर्ताहरूले नाराबाजी समेत गरेका थिए । भिड अनियन्त्रित हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ ।