काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धेरै मानिसहरू पहाडको पानी र भग्नावशेषमा फसेको बताइएको छ भने अहिलेसम्म ६५ जनाको सकुशल उद्धार गरिएको छ ।
माचैल माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको बताइएको छ । यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।
माचैल माता यात्रा प्रत्येक वर्ष अगस्टमा हुन्छ । हजारौं भक्तजनहरू यसमा आउँछन् । यो २५ जुलाई देखि ५ सेप्टेम्बर सम्म चल्ने गर्दछ । यो मार्ग जम्मूदेखि किश्तवारसम्म २१० किलोमिटर लामो छ र पद्दरदेखि चाशोतीसम्मको १९.५ किलोमिटर सडकमा सवारी साधनहरू जान सक्छन् । त्यसपछि ८.५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।
यस घटनामा दुई सिआईएएफ जवानको समेत मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले राज्य र केन्द्र सरकारको समन्वयमा उद्धार राहतको काम जारी रहेको जानकारी दिइएको छ ।