• फाल्गुन २६ २०८२, मंगलवार

अनिलकुमार झाको कोर्स करेक्सन, नेपाल सद्भावना पार्टी पुनः सक्रिय

श्रावण २८ २०८२, बुधबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले पुन नेपाल सद्भावना पार्टीलाई सक्रिय गराएका छन् । लोसपाको वरिष्ठ उपाध्यक्ष रहेका झाले आफुले राजनीतिक कोर्स करेक्सन गरेको बताएका छन् ।

उनले भनेका छन्‌– ’मेरो मातृ पार्टी नेपाल सद्भावना पार्टीको नेतृत्व गर्दै मैले मेरो राजनीतिक यात्राको कोर्स करेक्शन गरेको छु । तपाईंहरू सबैलाई तपाईंको समर्थन, सहभागिता, सहयोग र समर्थनको लागि अनुरोध गर्दछु ।’

झाले नेपाल सद्भावना पार्टीलाई निर्वाचन आयोगबाट अद्यावधिक समेत गरिसकेर सक्रिय बनाएका छन् भने उनले पार्टीको झण्डा र चुनाव चिह्न पुरानै ’पञ्जा’ हुने बताएका छन् । झाले पार्टीको आगामी कार्यक्रम बारे विहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन् ।

पूर्व उद्योगमन्त्री समेत रहेका झा राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा आबद्ध थिए । गत आम निर्वाचनमा धनुषा–३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका झा एमालेकी जुलीकुमारी महतोसँग पराजित भएका थिए ।