काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मलको विवरण सार्बजनिक गरेका छन् ।प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको बताएका छन् । साथै उनले कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत गरेका छन् ।
उनले भनेका छन्-
यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ ।
यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया: १६,५३९ मेट्रिक टन, डिएपी: ७,६५३ मेट्रिक टन, पोटास: ४,९१५ मेट्रिक टन रहेको छ ।
यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया: १०,९८४ मेट्रिक टन, डिएपी: ९४२ मेट्रिक टन, पोटास: १,७८५ मेट्रिक टन रहेको छ । कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध छ । खेतबारी हराभरा बनाऔं !