काठमाडौं । कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरी अझै पनि कारागार प्रवेश गर्न सकेको छैन । कारागार कैदीबन्दीको नियन्त्रणमा छ ।
तर, अहिले कारागारको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । मानव अधिकारकर्मी, सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयको टोली कारागार प्रवेश गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
“प्रहरी र कैदीबन्दीबीच कुराकानी पनि भइसकेको छ । मानव अधिकार आयोगको टोली निरीक्षणका लागि जाँदै छ । अहिलेको अवस्था सामान्य छ,” हमालले भने ।
गत शुक्रबार ब्लक ‘ए’का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । अन्य ४९ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
घटनापछि कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका थिए ।
कारागारभित्र असुरक्षित भएको भन्दै साउन १४ गते नै कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाएका थिए ।