• फाल्गुन २९ २०८२, शुक्रबार

उत्तराखण्डको भीषण बाढीमा ४ नेपाली पनि बेपत्ता भएकाे खुलासा

श्रावण २२ २०८२, बिहीबार

काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा ४ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत् उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।

‘थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत् समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’
बुधबार दिउँसो आएको बाढीमा परेर १ सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, उत्तराखण्डमा स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको छ ।
‘उनीहरूले अहिलेसम्म बेपत्ताको यकिन विवरण दिइसकेका छैनन्, परिवारतर्फबाट केही सूचना आएको हो,’ उनले भने, ‘भोलिसम्ममा मात्रै आधिकारिक विवरण आउँछ भनेका छन् ।’

यता भारतको उत्तराखण्डमा २० साउनमा आरीघोप्टे वर्षापछिको बाढीपहिरोमा परी ४ जना नेपाली बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीसँग अपिल गरेका छन् ।

इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा बेपत्ता भएका परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै निवेदन दिएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले जानकारी दिए ।