• फाल्गुन २६ २०८२, मंगलवार

दुर्गा प्रसाईं २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा

श्रावण १९ २०८२, सोमबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुइटा अदालतमा कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनमा उनले २५ लाख रूपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी पार्वती हितानले बताइन्। उनका अनुसार प्रसाईंले बैंकिङ कसुर सम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा पाउने आदेश भएको छ।

यसअघि सोमबारै अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रसाईंले ३ लाख रूपैयाँ धरौटी बुझाएका जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।

विशेष सरकारी वकिलको कार्यालयले प्रसाईंविरूद्ध बैंकिङ कसुरको मुद्दा उच्च अदालतमा दायर गरेको थियो। उच्च अदालतको वाणिज्य इजलासले २५ लाख रूपैयाँ धरौटी माग गरेको र प्रसाईंले त्यहीँ बुझाएको हितानले जानकारी दिइन्।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो।

सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो। त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार (रिलेटेड पार्टी ट्रान्जाक्सन) लगायतका शंकास्पद कारोबार गरेको आरोप थियो।

उच्च अदालतले दुर्गा प्रसाईं अहिले नै निर्दोष हुन् भन्न नसकिने पनि आदेशमा उल्लेख गरेको छ।