• फाल्गुन २९ २०८२, शुक्रबार

मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको अधिवेशनबाट नयाँ नेतृत्व चयन

श्रावण १८ २०८२, आईतवार

काठमाडौं । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन—२०८२ काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा मगर समुदायका प्राज्ञिक व्यक्तित्वहरु, नेपाल मगर संघ लगायत मगर समुदायसँग सम्वद्ध विभिन्न संघ—संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु गरी झण्डै ५ दर्जन बढीको सहभागिता रहेको थियो ।

उद्घाटन शत्रमा योगेश राईले ‘जैविक र साँस्कृतिक विविधता सम्बन्धि नीतिले मगर लगायत अन्य आदिवासी जनजातिहरुमा पार्ने असर’ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि डा.एकबहादुर रानामगर र सह–प्राध्यापक डा.लालबहादुर थापामगरले टिप्पणी गरेका थिए ।

सो अवसरमा नेपाल सरकारका उपसचिव विजय रानामगरले आदिवासी जनजाति आयोगले नेपालका आदिवासी जनजातिको उन्नतीका बारेमा गरेका कार्यहरुको जानकारी गराएका थिए । डा. कमल थापामगर, प्राडा चित्र बुढाथोकीमगर लगायतले कार्यपत्रमाथि सुझाव राखेका थिए ।

यसैगरी प्राज्ञिक व्यक्तित्वहरुबाट प्राडा चित्र बुढाथोकीमगर, भातृसंस्थाको तर्फबाट मगर विद्यार्थीका अध्यक्ष राजु पुनमगर, नेपाल मगर संघको तर्फबाट सह–अध्यक्ष गंगाबहादुर थापामगर, अन्तरराष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोकामगर, नेपाल मगर संघका सल्लाहाकारको तर्फबाट दिलबहादुर थापामगरले चौथो साधरणसभा तथा प्रथम अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बन्द शत्रमा कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महासचिवको तर्फबाट प्रगति प्रतिवेदन, अध्यक्षको तर्फबाट समग्र प्रतिष्ठानको प्रतिवेदन पेश भएको थियो । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमार मगरलाई नियुक्त गरी अध्यक्षले सञ्चालक समिति भङ्ग भएको घोषणा गरेका थिए ।

प्रमुख निर्वाचन अधिकृत समिति चयनको लागि गरेको प्रक्रियामा विधानतः उपस्थित संस्थाका सदस्यहरुको सर्वसम्मतिबाट तपशिल बमोजिमको सञ्चालक समिति निर्वाचित भएको घोषणा गरी निर्वाचित सबैलाई निर्वाचन अधिकृत कुमार मगरले प्रमाणपत्र प्रदान गरे ।

निवर्तमान अध्यक्ष नरमाया थापामगरले सौहार्दपूर्ण रुपमा निर्वाचन गराएकोमा अधिवक्ता कुमार मगरलाई प्रसंशा–पत्र प्रदान गरिन् । साधारणसभाबाट तपशिल बमोजिमका पदाधिकारीहरु निर्वाचित भएका छन् ।

डा. छविलाल चिदी (अध्यक्ष), जीवनप्रवेश रोकामगर (उपाध्यक्ष), डा. विष्णुकुमार सिङ्जाली (महासचिव), जगबहादुर बुढामगर (सचिव), डा. नारायणबहादुर मगर (कोषाध्यक्ष), डा. नरमाया थापा (सदस्य), माया कुमारी रोकामगर (सदस्य), सन्तबहादुर गाहामगर (सदस्य), बाल कुमारी थापाराना (सदस्य), मनोज घर्तीमगर (सदस्य) र डा. कर्णबहादुर मास्कीराना (सदस्य) ।