काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले चार बुँदे विचार सार्वजनिक गर्दै माओवादी केन्द्र बारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन् ।
उपमहासचिव शर्माले पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रीत बहसमा केन्द्रीत हुन आग्रह गरेका छन् । उनले अहिले सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन भएकोमा जोड दिएका छन् ।
जनार्दन शर्माको चार बुँदे आग्रह :
१) बिगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु।
२) गत बर्ष सबै प्रदेशहरुमा भएको परामर्श बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार आषाढदेखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौं। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।
३) पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हाैं ।
४) यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनसंरचना र पार्टीको पुनर्गठन नै हो । अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ । देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरुप्रति बेवास्ताले उत्पन्न निरासलाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुमा राष्टलाई एकतावद्द गर्नेछ । विशेष महाधिबेशनले पार्टी भित्रको बैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधिबविहीनता, सहित नयाँ पुस्ताको भावना र सपना संबोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ ।