• फाल्गुन २३ २०८२, शनिबार

भोटेकोशी बाढीकाे विपत्तिबाट सरकारले अझै सिकेन पाठ ?

श्रावण १३ २०८२, मंगलवार

काठमाडौँ । नेपालको उत्तरी क्षेत्र रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले असार २४ गते ठूलो धनजनको क्षति पु¥यायो । अप्रत्यासित रुपमा आएको सो बाढी आएसँगै धेरै अडकलबाजी भए । नेपालको मौसम विभागले सो क्षेत्रमा भारी वर्षा नभई हिमताल फुटेर बाढी आएको निष्कर्श निकाल्न एक दिन लाग्यो । ३६ किलोमिटर उत्तरस्थित हिमनदीमाथि रहेको पानीको ताल (सुप्राग्लेशिल लेक) फुट्नु प्रमुख कारण भएको पत्ता लगाएको थियो ।

यदि चीनले नेपालसँग सूचना आदानप्रदान हुने थियो भने सोही दिन यि कारणबाट बाढी आएको पत्ता लाग्थ्यो । नदीकिनारा क्षेत्रबाट मानिसहरु सुरक्षित स्थानमा पुग्ने वातावरण बन्थ्यो । तर, त्यो काम हुन सकेन । तिब्बतको माथिल्लो जलाधार क्षेत्र लेन्दे खोलाको शिरमा बनेका साना तथा ठूला हिमनदीका विषयमा यसअघि विभिन्न रिपोर्टहरु सार्वजनिक नभएका होइनन् । भोलि आउन सक्ने सम्भावित क्षतीको विषयमा सरकारले सचेत बनाउन सकेन ।

२४ असारको दिन हिमनदी फुट्ने कुनै छनकसमेत नेपाललाई थाहा हुन सकेन । सूचनाको अभावमा खोला किनारा क्षेत्रमा रहेकाहरुले त्यसको भेउ समेत पाउन सकेनन् । जसका कारण १७ जना वेपत्ता भए धरै धनमालको क्षति हुन पुग्यो । बाढी आएपछि यसको कारण पत्ता लगाउन एक दिन लाग्यो । चिनियाँ भूउपग्रह र नेपालको मौसम विभागले सो बाढी भारी वर्षा नभई हिमताल फुटेर आएको निष्कर्श निकालेको थियो ।

हिमताल जोखिमका विषयमा विभिन्न समयमा रिपोर्ट सार्वजनिक नभएका हाइनन् । तर, नेपालले त्यस्तो रिपोर्टको गहिरो अध्ययन गरेर समयमा सतर्कता अपनाएको पाइदैन । पाँच वर्षअघि सार्वजनिक एक अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतको हिमाली भेगमा ४७ वटा हिमताल फुट्ने जोखिममा रहेको देखाएको थियो । यसमध्ये तिब्बतमा २५ वटा, नेपालमा २१ वटा र भारतमा एउटा हिमताल जोखिमयुक्त रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को अध्ययनले देखाएको थियो ।

इसिमोड र यूएनडीपीले सन् २०१८ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतको हिमाली भेगमा ४७ वटा हिमताल फुट्न सक्ने जोखिममा रहेको उल्लेख गरेको छ। यीमध्ये तिब्बतमा मात्र २५ वटा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा ती हिमताल फुट्ने जोखिम रहेकाले नियमित अनुगमन गर्न पनि सुझाइएको थियो । तर अनुगमन हुन सकेको छैन ।

इसिमोडको अध्ययनले कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल भेटिएको उल्लेख गरेको थियो । तीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ वटा तिब्बतमा र ४५ वटा भारत भेटिएका थिए । अध्ययनहरूले जलवायु परिवर्तनका कारण हिमालय तीव्र गतिमा पग्लिइरहेकाले हिमतालहरू विस्फोटको उच्च जोखिममा रहेको औंल्याउँदै आएका छन् । तर, तिब्बतमा रहेका हिमतालहरूको अवस्था तथा त्यस क्षेत्रको तथ्यांक साटासाट गर्ने प्रणाली अहिलेसम्म स्थापना भएको छैन ।

चीनले त्यस्ता सूचना दिन आनाकानी गर्दै आएको छ । यदि असार २४ गतेअघि नै चीनले त्यसरी सूचना आदानप्रदान गरेको भए रसुवा भोटेकोशीमा आएको बाढीबाट त्यति ठूलो क्षति हुने थिएन । चीनसँगको मौसम राडरको बलियो प्रणाली छ । मौसम विभाग अन्तर्गत चीनले कुन क्षेत्रमा हिमतालको अबस्था के कस्तो छ समयसमयमा अध्ययन गरेर विश्लेषण गरिरहेको हुन्छ । साथै सतर्कता पनि अपनाएको पाइन्छ ।

विशेगरी हिमाली क्षेत्रमा बन्ने नयाँ हिमताल र त्यसले पु¥याउने क्षतिको विषयमा अलर्ट हुने गरेको भएपनि नेपालसँग भने सूचना आदानप्रदान भने हुन सकिरहेको देखिदैन । यदि चीनले सो भन्दा अघि हिमताल विस्फोटको जोखिमको विषयमा नेपाललाई सूचना प्रदान गरेको भए ठूलो धनजनको क्षति हुदैन थियो । अझै पनि तिब्बती क्षेत्रमा रहेको हिमताल कुन अबस्थामा छन् । कति जोखिम अबस्थामा छन् भन्ने जानकारी नेपाललाई छैन । यो त एउटा उदाहरण मात्रै हो अझै तिब्बती क्षेत्रको हिमालय क्षेत्रमा धेरै साना तथा ठूला हिमताल बनिरहेको छ । तर, नेपालले त्यसको सूचना अझै माग्न सकेको छैन ।

‘कूटनीति रुपमा नेपालले सो बारेमा चासो राख्नुपर्ने हो, तर त्यसो हुन सकिरहेको देखिन्न, मौसम विज्ञ राजन अधिकारी भन्छन्, नेपालले अब पनि ढिला नगरी सीमा क्षेत्रको हिमाली भेगमा के कस्तो हिमताल कुन अबस्थामा छन् सो जानकारी कूटनीतिक माध्यमबाट लिनु पर्छ ।’ भोटेकोशीको यो जोखिम शुरुवात मात्रै हो, अझै बिनाशकारी अबस्था आउन त बाँकी छ, अधिकारी भन्छन्, सरकारले यो विषयमा कूटनीतिक पहलको माध्यमबाट मौसमी अबस्थाको सूचना आदानप्रदानको विषयमा पहल गर्न जरुरी छ ।

अहिले चीनबाट ’रिअल टाइम’मा (तत्कालै) मौसमसम्बन्धी सूचनाहरू व्यवस्थित रूपले प्रदान हुने गरेको छैन । “प्रारम्भिक अनुमान गर्न नेपाललाई अप्ठ्यारो परिरहेको छ, किन कि भोटेकोशी बाढी आउनुअघि तिब्बती हिमाली क्षेत्रमा के कसरी हिमताल फुट्यो भन्ने विषय जानकारी पाउन एक दिन लाग्यो । चीनसँग हाम्रो डेटा शेअरिङ् (सूचना आदानप्रदान)को संयन्त्र छैन, उनीहरूका नीतिको कारण त्यसैले पनि समस्या भइरहेको छ । भोलीको दिनमा पुन यहि अबस्था नआउला भन्न सकिन्न तर, सरकारले यो विषयमा कूटनीतिक पहलबाट सूचना आदानप्रदानको विषय हल गरिनुपर्छ, अधिकारीले भने ।

इसिमोडको सन् २०११ को अध्ययनमा विगतमा २४ वटा हिमताल विस्फोटका ठूला घटना रेकर्ड भएको उल्लेख छ, जसमध्ये १० वटा नेपाली भूभागमा भएका थिए भने १० वटा तिब्बतको हिमाली क्षेत्रमा भएका थिए । हिमताल विस्फोटपछि नेपालका नदीमा ठूलो बाढी आएको थियो ।

विगतदेखि फुटिरहेछ हिमताल, बढ्दो जोखिममा छैन सर्तकता

जलाधार क्षेत्रमा रहेको हिमाली क्षेत्रमा नयाँ हिमताल बन्ने र फुट्ने क्रम चलिरहेको छ । हामीले त्यसबाट पाठ भने अझै सिक्न सकेका छैनौ । जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण पछिल्लो समय हिमताल विस्फोटबाट हुने जोखिम बढिरहेको देखिएको छ ।

विसं २०८१ साउनमा हिमताल फुट्दा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय गाउँ थामेमा भिषण बाढी आयो । जसले एउटा सिंगो गाउँलाई तहसनहस बनाइदियो । अध्ययन अनुसार एउटा हिमताल फुटेर तल्लो स्थानको अर्को तालमा खसेको र त्यो पानी सोहोरिएर एकै पटक उर्लिंदा थामेमा विपत्ति निम्तिएको थियो ।

२०८१ वैशाखमा गोर्खाको वीरेन्द्र ताल फुट्दा पनि बूढीगण्डकी नदीमा बाढी आएको थियो ।

२०८१ असार २२ राति दोलखाको रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका होटल र घर गरेर आठ वटा संरचना बगाएको थियो। एक व्यक्ति हराएका थिए । यो बाढी पनि हिमताल फुटेर आएको अनुमान गरिएको छ ।

सन् १९८५ मा सोलुखुम्बुको डिगच्छो हिमताल फुट्दा १२ जनाको मृत्यु भएको थियो । सन् १९७७ मा हिमताल विस्फोटपछि दूधकोशी नदीमा आएको बाढीले तीन जनाको ज्यान लिएको थियो ।

सन् १९८१ मा तिब्बतको सिरेनमाचो हिमताल विस्फोट भएर आएको बाढीले नेपाल–चीनको मितेरी पुल बगाउँदै सुनकोशी जलविद्युत् आयोजनाको ड्याममा क्षति गरेको थियो ।

नेपालले छिमेकीलाई समेत हुने गरी सूचना राख्दा छिमेकीले राख्दैनन्
नेपालले मौसमी डेटालाई छिमेकीहरुले पनि उपयोग गर्ने गरी सार्वजनिक रुपमा राख्ने गरेको छ । तर, चीनले भने सूचना आदानप्रदान हुने गरेको छैन । नेपालले बाढीको अबस्था र मौसमी अबस्थाको विषयमा दैनिकजसो सार्वजनिक रुपमा डेटा राख्ने गरेको छ ।

उत्तरी छिमेकी चीनले अलर्ट गर्ने गरेपनि आधिकारिक माध्यमबाट अहिलेसम्म सूचना आदानप्रदान गर्ने गरेको पाइदैन । जस्तो २०७८ सालमा सिन्धुपाल्चोकको भोटेकोशीमा तिब्बतमा हिमताल फुटदै छ भन्ने सूचना आयो तर, चीनले आधिकारीक रुपमा भने पठाएन । सो समयमा नदी किनारा क्षेत्रमा रहेका बासिन्दालाई अलर्ट गरेर सुरक्षित स्थानमा पठाउनका लागि सहयोग गरेको थियो ।