काठमाडौँ । इजरायलले गाजाका केही भागहरूमा आफ्नो सैन्य गतिविधिहरूमा ‘रणनीतिक रोक’ को घोषणा गरेको छ ।
इजरायल रक्षा बलले गाजामा मानवीय सहायताको मात्रा बढाउन यस्तो गरिएको जानकारी दिएको छ । आइडीएफले आइतबार स्थानीय समय अनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म गाजा पट्टीका केही भागहरूमा सैन्य गतिविधिहरू बन्द गर्ने बताएको छ ।
आइडीएफले अल–मवासी, देइर अल–बलाह र गाजा शहरमा अर्काे सूचना नभएसम्म दैनिक सैन्य गतिविधिहरूमा ‘रणनीतिक रोक’ रहने बताएको छ । आइडीएफले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँग परामर्श गरेपछि यो निर्णय लिइएको जानकारी दिएको छ ।
यसैबीच गाजा पट्टीमा मानिसहरूलाई खाना र औषधि पुर्याउने संयुक्त राष्ट्र संघ र मानवीय सहायता संगठनको काफिलाहरूको सुरक्षित आवागमनलाई अनुमति दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म स्थायी सुरक्षित मार्गहरू सिर्जना गरिने भएको छ ।
गाजामा पछिल्ला दिनमा भोकमरीका कारण १२२ भन्दा बढीको मृत्यु भएपछि अन्तर्राष्ट्रिय दबाब बढेपछि इजरायलले यस्तो घोषणा गरेको विश्वास गरिएको छ ।