प्यालेष्टिनी जनतामाथि इजरायली फौजी दबदबा कायम छ । इजरायलका छिमेकी देश पनि आहत छन् । अमूक जात समूल नष्ट गर्ने भन्दै इजरायली यहुदी लागिपरिहेको छ । उनीहरूलाई अमेरिकाको साथ छ । अर्कोतिर रूस–युक्रेन युद्ध लगातार अघि बढिरहेको छ ।
इजरायल–इरान सर्जिकल आक्रमण युद्ध विराममा झुण्डिएको छ । इजरायलको अनुनयमा अमेरिकी संलनतासँगै इरानको फोर्दो आणविक स्टेशनमाथि अमेरिकी बी–टु बमवर्षक विमानद्वारा आक्रमणसमेत भइसकेको छ । वर्तमानमा चलिरहेका यी सबै आक्रमण र प्रत्याक्रमणले आणविक युद्धको सीमा छोइसकेका छन् । तर पनि जोकोहीले अनायाशै भन्ने गर्दछन्– ‘के तेस्रो विश्वयुद्ध होला ?’
रूस–युक्रेन युद्धसँगै इजरायल–इरान युद्धसम्म आइपुग्दा यसले विश्वलाई दुई खेमामा विभाजित गरिसकेको छ । रूससँग ऊसँग सम्बद्ध देश उभिएका छन् । युक्रेनसँग अमेरिकासहित नेटो राष्ट्र साथमा छन् । ती सबैको हातहतियार र बजेटसहित संलग्नता छ । समर्थन वा साँठगाँठका हिसाबले मात्र होइन, सहभागिताका हिसाबले पनि नेटोसम्बद्ध राष्ट्र युक्रेनको साथ दिँदै रूसविरूद्ध निरन्तर लागिपरेका छन् ।
जल, थल र आकाश युद्ध निरन्तर चलिरहेको छ । यति मात्र होइन, सेटेलाइट निर्देशित र संरक्षित मिसाइल तथा बमवर्षा भइरहेका छन् । यसैले क्षेत्रीय युद्धका रूपमा अभिव्यक्त यी लडाइँ तेस्रो विश्वयुद्धको छायाँ युद्धमा परिणत भइसकेको छ । प्रथम र द्वितीय विश्वयुद्धमा नलडिएको सेटेलाइट निर्देशित ‘स्पेस वार’ अहिले यो छायाँरूपी तेस्रो विश्वयुद्धमा नयाँ ट्रेण्डका रूपमा जोडिन आइपुगेको छ ।
अहिलेको विश्व ‘ग्लोबलाइज्ड’ छ । विश्वको स्थानीयकरण भइसकेको छ र स्थानीयको वैश्वीकरण भइसकेको छ । त्यसैले हाल देखिएका क्षेत्रीयस्तरका युद्धले विश्वयुद्धको छायाँयुद्धको स्वरूप धारण गरिसकेका छन् ।
भर्खर सूर्योदयको बिहानीपख अग्लो चुचुरोमा उभिएको कुनै व्यक्ति आफ्नो सामुन्ने अगाडि आउनुपूर्व यसको छायाँ केही टाढा रहेको मानिसको अगाडि देखिइसकेको हुन्छ । त्यसैगरी अहिले पनि छायाँ युद्धरूपी तेस्रो विश्व युद्ध युक्रेन र इजरायलको वरिपरि मडारिइरहेको छ । अमेरिका तेस्रो विश्वयुद्धमा आफ्नो पहल र नेतृत्व रहोस् भन्ने चाहन्छ । तर सिधासिधा युद्धमा होमिन नपरोस् भन्ने उसको आन्तरिक मनसाय रहेको छ ।
इतिहास साक्षी छ, सिधासिधा युद्ध नलडेको इतिहास बनाएको अमेरिका दोस्रो विश्वयुद्धमा पनि नलडिकन ‘हिरो’ वा अतिमहाशक्ति बन्ने अवसर पाएको थियो । वास्तवमा तत्कालीन समाजवादी सोभियत रूसका राष्ट्र प्रमुख जे.भी. स्टालिनको नेतृत्वमा रहेको रूसी लालसेनाले जर्मनी नाजी सेनालाई हराएपछि दोस्रो विश्व युद्धको अन्त्य भइसकेको थियो । नाजी सेनाको अकल्पनीय हारपछि जापानी सेना हायलकायल भई स्वदेश फर्किइसकेको थियो ।
यस्तो अवस्थामा तत्कालीन मित्र राष्ट्र (बेलायत, अमेरिका र रूस)का तर्फबाट संयुक्त रूपमा दोस्रो विश्वयुद्ध समाप्त भएको घोषणा गर्न मात्र बाँकी थियो । यति नै बेला अमेरिकी र बेलायती राष्ट्रप्रमुख र कुटनीतिज्ञले जापानका ‘राजा हिरो हितोले आत्मसमर्पण नगरेको’ विषय उठाएर ‘इगो’को आगो सल्काइदिए । कुटनीतिक स्तरमा वार्ता गर्ने वा सेना पठाएर लडाइँ गर्ने पनि होइन, केवल २४ घण्टाभित्र आत्मसमर्पण नगरे परमाणु बम खसालिदिने धम्की दिए ।
उता रूसभित्र पसेको नाजी सेनाको सर्मनाक हारपछि दोस्रो विश्वयुद्ध जितिइसकेका मौका छोपेर अमेरिका र बेलायतले धूत्र्याइपूर्ण छलसहित जापानले ‘आत्मसमर्पण नगरेको’ बहानामा जापानको सबैभन्दा बाक्लो जनसङ्ख्या रहेको हिरोसिमा र नागासाकी सहरमाथि आणविक बम खसाली लाखौं निर्दोष जनताको प्राण लिए ।
यसको देखावटी वा बाह्य कारण ‘जापानले आत्मसमर्पण गरेन’ भन्ने थियो भने आन्तरिक र मूल कारणचाँही कम्युनिष्ट समाजवादी व्यवस्थाको प्रभाव र बिस्तार अबका दिनमा डढेलो झैं विश्वभर सल्कने भयो भन्ने डर अमेरिकालगायत पश्चिमा राष्ट्रलाई हुन गएको थियो । किनकि वास्तवमा दोस्रो विश्वयुद्ध समाजवादी रूसले जितिसकेको थियो ।
आणविक बमको सन्त्रास फैलाएर अमेरिकाले दोस्रो विश्व युद्धदेखि हालसम्मको समयमा विश्वमा लगभग एकलौटी राज गर्दै आएको थियो । तर अबका दिनमा चन्द्रमा अमेरिकाको दाहिना देखा परिरहेका छैनन् । युरोपपछि उदाएको अमेरिका अब सदाकाल टिकिरहने र विश्वमा एकछत्र राज गरिरहन पाउने सङ्केत पनि देखा पर्न छाडिसकेका छन् । यसले अबका दिनमा नयाँ युद्धको ढोका खोलिसकेको छ ।
आवश्यक स्रोतसाधन, जनसङ्ख्या, मानवीय शक्ति, विकास र प्रगतिका हिसाबले पनि एशिया क्रमशः उदीयमान हुँदै गएको छ । रूस, चीन, भारत जापान आदि अग्रपङ्क्तिका एशियाली उदीयमान शक्ति हुन् । त्यसमा पनि जनशक्ति, साधनस्रोत, विज्ञान तथा प्रविधिको विकासका हिसाबले चीन अग्रपङक्तिमा देखा परिरहेको छ ।
त्यसैले पनि अमेरिकाले अन्य एशियाली राष्ट्रभन्दा पनि चीनलाई निकै बढी आँखी गरिरहेको देखिन्छ । चीनसँगको युद्ध अमेरिकी राष्ट्रपति ट्रम्पको प्राथमिकतामा रहेकाले रूस–युक्रेन युद्धमा अमेरिकाको चासो भए पनि त्यहाँ फस्न र अल्झन चाहँदैन अमेरिका । तर नेटोसम्बद्ध राष्ट्र फ्रान्स, बेलायत र जर्मनी भने युक्रेनयुद्ध लडेर उदाउँदो एशियाली राष्ट्रसँगको युद्धलाई निरन्तरता दिने सोचमा रहेका देखिन्छन् ।
यो अमेरिकाका लागि टाउको दुखाइ बनिरहेको छ । युक्रेनको स्वाभिमान रहला वा नरहला ! तर आफ्ना सहयोगी नेटो राष्ट्रहरूले अमेरिकालाई दिएको झन्झटपूर्ण दबाब अमेरिकाका लागि ‘नखाउँ त दिनभरिको सिकार, खाऊँ त कान्छा बाबुको अनुहार !’ हुन गएको छ ।
युद्ध कहाँ र कुन भूभागमा लड्ने भन्ने कुराले रणनीतिक महत्व राख्ने गर्दछ । पहिलो र दोस्रो विश्व युद्ध लडेर निकै अनुभव सङ्गालेका युरोपीय शक्ति राष्ट्रहरू अहिले यही कुराको धरमरमा छन् । युक्रेनमाथि हमला भइसकेपछि युरोपमाथि हमला भएको ठान्दै उनीहरू रूसलाई हराउने पक्षमा देखिन्छन् । तर अमेरिका अझैं पनि टाढै भएकाले ऊ मौकाको खोजीमा देखिन्छ ।
अहिले युरोप डराएको छ कि कतै युरोपीय भूमिमा तेस्रो विश्वयुद्ध नलडियोस् ! त्यसैले उनीहरू रूस–युक्रेन युद्धमा या त रूस लखेटिएको या त स्थायी युद्ध विराम भई युरोपमा ढुक्कताको वातावरण सिर्जना हुन गएको देख्न चाहन्छन् । अमेरिका यसै विषयलाई बुझेर रूसले हालका लागि युद्ध विराम गरिदेओस् भन्ने चाहना बारम्बार पुटिनसँग रााख्ने गरिरहेको देखिन्छ ।
ट्रम्पले रूस–युक्रेन वार्ताका लागि बरू रूसले आफूले जितेका युक्रेनी भूमि लिएर जाओस्, तर वार्ता गरिदेओस् भन्ने कुरा धेरै पटक खुल्लमखुल्ला सार्वजनिक गरिरहेका छन् । उता रूसले विजित युक्रेनी भूमि प्राप्ति मात्र होइन, नेटो राष्ट्रले युक्रेनस्थित काला सागर पार गरेर पूर्वतिर अघि नबढून् भन्ने आशय खुल्लमखुल्ला राखिरहेको छ । यसका लागि हाल चलिरहेको रूस–युक्रेन युद्ध र वार्ताको मोडल हेर्न बाँकी नै छ ।
अमेरिका आफ्नो आन्तरिक मामलामा पनि फसिरहेको छ । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराबाट पनि अहिले अमेरिकाको स्थिति निकै खस्किएको छ, त्यसलाई माथि उठाएर अमेरिकालाई फेरि पनि महान् बनाउने भन्ने आशय स्पष्ट रूपमा बुझिन्छ । आन्तरिक शक्ति सञ्चयमा लागेको अमेरिकाका लागि आजै विश्व युद्ध लड्नु असंभव त छैन तर पनि भारी जोखिमपूर्ण भने पक्कै छ ।
हालको अमेरिकाको आँखामा लागेको उसको साँच्चैको प्रतिद्वन्द्वी चीन पनि ‘युद्ध नै नलडेर युद्ध जित्ने’ रणनीति अख्तियार गर्दै सफलतापूर्वक अघि बढिरहेको छ । यो कुरा अमेरिकाले टुलुटुलु हेरिरहेको मात्र छैन, बरू चीनलाई फसाउन, अल्झाउन र बाध्यात्मक अवस्थामा पु¥याउन व्यापार करदेखि ‘स्पेस वार’सम्मका तानाबाना बुन्दै चीनलाई घेरा मार्नतिर अविश्राम लागिपरिरहेको छ ।
यति मात्र होइन, यदि तेस्रो विश्वयुद्ध नै लड्नु परे पनि एशियाली भूमिमा लड्ने तयारी अमेरिकाले गरिरहेको छ । एउटा ‘ट्रायल’ त अमेरिकाले जम्मुकाश्मिरको पहलगाम आक्रमणका क्रममा लिइसकेको छ । तर त्यसमा चिनियाँ हतियारको सर्वोच्चताले अमेरिकालाई वार्ताका लागि पहल गरिदिन बाध्य तुल्याएको छ । यदि चिनियाँ एफ–फिफ्टिनले फ्रान्सेली युद्धक विमान राफेल नखसालिदिएको भए आज युद्धले दक्षिण एशियामा तबाहही मच्चाइरहेको हुने थियो । यो युद्धले चीनलाई छोइसकेको हुने थियो ।
यो युद्धमा विराम लाग्यो । शान्ति वार्ता भयो । यसले दक्षिण एशियालाई केही समय ढुक्क बनायो । तर पनि अमेरिकाले अरब देशमा इजरायलमार्फत् तबाही मच्चाइरहेको छ । यसमा अमेरिकी बाध्यता के छ भने यसले विश्व युद्धको सीमारेखा एशियातिर सार्न चाहन्छ । अहिले एशियाली महाशक्ति र अमेरिकी–युरोपीय महाशक्तिका बिचमा विश्व युद्धको सीमा कसको क्षेत्रतिर धकेल्ने भन्नेमा होड चलिरहेको छ । पूर्वले पश्चिम र पश्चिमाले पूर्व सीमा कोर्ने आजको महाशक्ति राष्ट्रहरूका सशस्त्र रस्साकस्सीमा रूस–युक्रेन र इजरायल–इरान युद्ध देखा परिरहेका छन् ।
यो सम्पूर्ण दृश्य तेस्रो विश्वयुद्धको छायाँ युद्ध हो । यसले यथार्थ तेस्रो विश्वयुद्धको वास्तविक स्वरूप केही समयपछि नै देखाउने स्थिति अहिलेको वैश्विक अन्तरविरोधले देखाइसकेको छ ।