काठमाडौं, साउन १ । पूर्खाले सिर्जना गरेर आफ्ना सन्तानलाई सुम्पेका मानिसका कला, संस्कृिति सबैलाई प्याराे लाग्ने गर्दछ । फलस्वरूप आजकाे मानिसले ती संस्कृतिहरूलाई मान्दछन् र भावी पुस्तालाई हस्तान्तरण गर्दछन् । यसैक्रममा अथार मगरात मगर प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा साउने सकराती उधेली पर्व–२०८२ त्रिभुवनपार्क, थानकोटमा भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनमगर (पासाङ) प्रमुख अतिथि थिए । सो अवसरमा बोल्दै पूर्वउपराष्ट्रपति पुनले मगर समुदायको तर्फबाट सबैमा साउने सकराती ०८२ को शुभकामना व्यक्त गरे ।
मन्तव्यका क्रममा पूर्वउपराष्ट्रपति पुनले साउनमा बाढीपहिरो आउने र रोगव्याधी लाग्ने भएकोले त्यसबाट बच्न राँको फाल्ने चलन चलेको भन्दै बाढीपहिरोबाट बचेको खुशियालीमा १२ भदौ पनि मनाउने गरेको बताए ।
उनले यसरी मानवजातिले लामो समयसम्म अभ्यास गरेर बनाएका चाडहरुको थप विकास गर्नुपर्नेमा जोड दिए । एक प्रसंगमा पुनले अरु समुदायसित पनि एकाकार हुँदै मगर भाषा, संस्कृति र संस्कारलाई संरक्षण गर्नुपर्ने बताए । पुनले मगर संस्कृति आजको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।
कार्यक्रमका अर्कावक्ता तथा मगर संस्कृतिविद बमकुमारी बुढामगरले पश्चिमाले नेपालमा लगानी गरेर नेपाली संस्कृति मास्न खोजेको कुरा नेपाली युवालाई भन्नुपर्ने बताइन् । विक्रम संवतलाई राम्रोसित पालन गर्ने प्रमुख जाति मगर जाति भएको भन्दै उनले पहिला आफ्नै समाजलाई राम्राेसित बुझेपछि मात्र देश विदेशको बारेमा बुझ्न सजिलो हुने धारणा राखिन् ।
मन्तव्यका क्रममा बुढामगरले ०८२ सालको साउने सकरातीको शुभकामना पनि व्यक्त गर्दै आफ्नो संस्कृतिलाई केलाउने क्षमताको विकास होस् भन्ने शुभेच्छा प्रकट गरिन् । बुढामगरले मगर भाषा जस्तै नेपाली गीत संगीतमा गरिएको रिमिक्सलाई रोकेर नेपालमा सबै भाषाभाषीका गीतहरुमा रहेका मौलिकताहरुलाई थप विकास गर्नेमा जोड दिइन् ।
इतिहासको एक प्रसंगमा उनले मगर समुदाय संघात्मक प्रणालीको अभ्यास गरेर आएको समुदाय भएकोले आजको संघीय गणतन्त्रात्मक शाषण व्यवस्थामा पनि सबै जातिले बराबरी अधिकार पाउनु पर्नेमा जोड दिइन् ।
सो अवसरमा पूर्वसभामुख ओनसरी घर्तीमगर, नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, सहअध्यक्षद्वय गङ्गा खासुमगर र गङ्गाबहादुर थापामगर, महासचिव टेकबहादुर नाम्जालीमगर लगायत समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मगर साँस्कृतिक संस्थान, अठार मगरात कलाकार संघ, विभिन्न सम्पर्क समितिहरूद्वारा मगर समुदायको मौलिक कला, संस्कृति र परम्परागत नाच–गानः जस्तै सरङ्ग्या, डिग्रे, कौरा, भुमे, जोरा स्याइ, धासी, पैंस्यारु लगायतका प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो भने मगर कलाकारहरूले विभिन्न झाँकीहरू पनि पस्केका थिए ।
साथै, कार्यक्रममा परम्परागत ‘रोटी अचार प्रतियोगिता (भरे छोप बाजी)’ पनि विशेष आकर्षण बनेको थियो ।
प्रतिष्ठानकी महासचिव श्रीमती लालकुमारी रोकामगरले कार्यक्रमको औपचारिक सत्र संचालन गरेकी थिइन् भने साँस्कृतिक कार्यक्रमको सञ्चालन मगरात कलाकार संघका महासचिव खड्कबहादुर पुन ‘चञ्चल’ले गरेका थिए ।
कार्यक्रममा मगर समाजका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान तथा प्रतिभाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति झबिन्द्र पुनमगरले साउने सकराती उधेली पर्व—०८२ मनाउन साथ र सहयोग गर्ने व्यक्ति, संघ-संस्था तथा विशिष्ट व्यक्ति, मगर तथा अन्य समुदायका आगन्तुकहरुलाई विशेष धन्यवाद दिनुका साथै आभार प्रकट गरे ।
उनले साउने सकराती उधेली पर्व जस्ता कार्यक्रमहरु आगामी दिनमा थप शसक्त र प्रभावकारी रुपमा मनाइने प्रतिवद्धता जनाउँदै कार्यक्रम समापन गरे ।
तस्वीर : राेमन बुढामगर ।