महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् । आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि नगरपालिकाले तलब निकासा नदिएको भन्दै नगरका ३२ वटा विद्यालयका प्रधानाध्यापकहरूले नगरपालिकाको प्रशासन शाखामा सामूहिक रूपमा राजीनामापत्र बुझाएका हुन् ।
नगरपालिकाले अत्यावश्यक रकम निकासा नगर्दा विद्यालय सञ्चालन गर्नै सकस भएपछि बाध्य भएर आफूहरूले राजीनामा दिएको प्रधानाध्यापकहरूले बताएका छन् ।
दिवा खाजा, पाठ्यपुस्तक, नन सेलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, ससर्त पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकमसमेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा पनि आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापकहरूको भनाइ छ ।
यता, मेयर दिपेन्द्रकुमार महतोले रकम निकासा भइसकेको दाबी गरे । ‘विद्यालयमा नियमित आउने विद्यार्थीहरूको संख्याका आधारमा दिवा खाजाको रकम निकासा भएको छ,’ उनले भने, ‘कतिपय प्रअले कहिले विद्यालय नै नआउने विद्यार्थीहरूको नाम समावेश गरी दिवा खाजाको रकम माग गरेका थिए । तर, हामीले हाजिरी रजिस्टरसहितको अनुगमन मूल्यांकन गरेर मात्रै रकम निकासा गरेका छौँ ।’
मेयर महतोले भने, ‘राजीनामा दिनु छ भने आ–आफ्नै विद्यालय व्यवस्थापन समितिमा दिनुपर्ने हो । नगरपालिकामा दिएर केही हुँदैन । उहाँहरू आफ्नो जिम्मेवारी लिनु हुन्न भने अर्को शिक्षकलाई जिम्मेवारी दिनुपर्छ । तर, उहाँहरूको अनावश्यक मागलाई सम्बोधन गर्न सक्दैनौँ ।’