• फाल्गुन २३ २०८२, शनिबार

नेपालकी सुस्मिता विश्व मुआथाई परिषद्को महिला र्‍याङ्किङको १२औं स्थानमा

असार ३० २०८२, सोमबार

काठमाडौँ । नेपालकी सुस्मिता थापा मगर विश्व मुआथाई परिषद्को महिला र्‍याङ्किङमा सूचिकृत हुने नेपाली खेलाडी बनेकी छन् । विश्व मुआथाई परिषदले हालै सार्वजनिक गरेको सूचीअनुसार सुस्मिता महिलातर्फको ५२ केजीतर्फ १२औं स्थानमा परेकी हुन् ।

२१ वर्षीया सुस्मिता हाल गण्डकी विश्वविद्यालयमा खेल विषयमा स्नातक तहमा अध्ययनरत रहेकी छिन् । उनी करिब ९ महिनादेखि पोखरास्थित साकयान मुआथाई क्लबमार्फत मुआथाईको व्यावसायिक प्रशिक्षणमा सक्रिय छिन् ।

आइटिएफ तेक्वान्दोमा राष्ट्रिय च्याम्पियनको परिचय बनाइसकेकी सुस्मिताले त्यही पृष्ठभूमिबाट मुआथाईतर्फको यात्रा थालेकी हुन् । उनी अहिले व्यावसायिक स्तरको मुआथाई खेलतर्फ लागेकी छन् । उनले सोही क्रममा यस अघि नेपालमा भएका तीन ठूला प्रतियोगिताहरु जितेकी थिइन् ।

उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार सुस्मिता यही जुलाई २५ मा श्रीलंकामा आयोजना हुने मुआथाई प्रतिस्पर्धामार्फत आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गर्न लागेकी छन् । यसका लागि तयारी तीव्र पारिएको क्षेत्रीले जनाए ।

साथै, डब्लुबीसीको र्‍याङ्किङमा परेपछि अब सुस्मिताले एसियन च्याम्पियनसिप र वर्ल्ड च्याम्पियनसिपजस्ता ठूला प्रतियोगितामा सहभागिता जनाउन सक्ने बाटो खुलेको प्रशिक्षक क्षेत्रीले बताए ।

डब्लुबिसी र्‍याङ्किङ :

१. नरक नुमफोनथेप (थाइल्याण्ड)

२. रोना वाकर (स्कटल्याण्ड)

३. सेलेस्ट हेन्सेन (अष्ट्रेलिया)

४. एलेक्स रोज (इङ्गल्याण्ड)

५. या यु पुइ (हङकङ)

६. दाओकोंगफाह बन्चामेक (थाइल्याण्ड)

७. लारा फर्नान्डेज (स्पेन)

८. याज्मिन नाजरी (स्कटल्याण्ड)

९. मोआ कार्लसन (स्विडेन)

१०. इनेस पिलुट्टि (फ्रान्स)

११. मेलिसा मेन्डेस (पोर्चुगल)

१२. सुस्मिता थापा मगर (नेपाल)

१३. लियोनी हार्डम्यान (इङ्गल्याण्ड)

१४. नुर अमीशा बिन्ती अज़्रिलरिजाल (मलेसिया)

१५. डानिएला मिरान्डा (पोर्चुगल)

१६. जुनियर फेयरटेक्स (थाइल्याण्ड)

१७. नोङनुक एमजिसी चियाफुम (थाइल्याण्ड)

१८. वकाना ब्रिङगिटोन (जापान)

१९. विन्निया लिओ (सिंगापुर)

सुस्मिताको यो उपलब्धिलाई नेपाली मुआथाईको क्षेत्रमा ऐतिहासिक मानिएको छ । अब उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा जुटेकी छन् ।