• फाल्गुन २६ २०८२, मंगलवार

जग्गा किर्ते गरेको आरोपमा नेकपा एसबाट निर्वाचित वडाअध्यक्ष सुवेदी पक्राउ

असार २९ २०८२, आईतवार

काठमाडौं । जग्गा किर्ते गरेको आरोपमा संग्लग्न नेकपा एसबाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् ।
धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो ।

वडाअध्यक्ष सुवेदी माथी सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारिदिएका थिए ।

वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडाअध्यक्ष सुवेदीमाथी मुद्दा दर्ता भएको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ ।

सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडा अध्यक्षको रूपमा कार्यरत थिए ।