करीब २ साताअघि मात्र अमेरिकाले इरानको फोर्दो, नान्ताज र इस्फाहन सहितका तीन आणविक केन्द्रमा बम हमला गर्याे । बी–२ बम वर्षक विमानबाट गरिएको यो हमलामा ती आणविक केन्द्र ध्वस्त पारिएको अमेरिकाद्वारा दावा गरियो । तर यो दावासँगै यी आणविक केन्द्रका बाह्य संरचना मात्र आंशिक रूपमा क्षतिग्रस्त भएका विपरीत प्रतिदावा पनि सञ्चार माध्यममा सँगसँगै आयो ।
अमेरिकाले यो आक्रमणसँगै इरानी साङ्केतिक प्रतिरोधात्मक प्रत्याक्रमण पनि खेप्नु पर्याे । इरानका छिमेकी देशमा अमेरिकाले तैनाथ गरेको हवाइ सेनाका क्याम्पमा इरानी मिसाइलद्वारा आक्रमण गरिए । तथापि त्यसबाट भएको क्षतिको विवरण अमेरिकाले सार्वजनिक भने गरेन ।
यी घटनापछि ट्रम्पले २४ घण्टे शान्ति प्रस्तावको फेहरिस्त प्रस्तुत गरे, विश्व सञ्चार माध्यम सामु लिखित र मौखिक रूपमा । यसले आशा र अन्यौलता दुवै जन्मायो । ट्रम्पले प्रस्तुत गरेका सिलसिलेवार शान्ति प्रस्तावका श्रृङ्खलाहरूले अमेरिकी बम हमला र इरानी मिसाइल प्रतिहमला वास्तविक थिए कि नौटङ्की मात्र भन्ने आशङ्कालाई पनि व्यापक बनाइदियो । यो आशङ्का यद्यपि कायमै छ ।
अहिले अमेरिका–इरान–इजरायल युद्ध विरामको अवस्था छ । यही जगमा टेकेर ट्रम्पले मध्यपूर्व शान्तिको कुरा गरिरहेका छन् । तर इजरायलले प्यालेस्टिनी आवाद क्षेत्र गाजा र वेष्ट ब्याङ्क तथा अन्य मुस्लिम देशमाथि बम बर्षाएर नरसंहार मच्चाउन कुनै कसर बाँकी राखेको छैन ।
बम वर्षाएर विनास लिला मच्चाउँदै शान्तिका कुरा गर्ने अमेरिकी युद्धको मोडल एक शताब्दी अघिको वा उन्नाइसौं शताब्दीको मोडल हो । दोस्रो विश्वयुद्धमा तात्कालीन समाजवादी रूसले जर्मनी नाजी सेनालाई हराएर विश्वयुद्ध अन्त्यको पहलकदमी लिएसँगै बेचैन भएको अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमाथि ‘लिटल ब्वाय’ र ‘फ्याटम्यान’ नामक परमाणु बम प्रहार गरेर आमसंहार मच्चाउँदै दोस्रो विश्वयुद्ध आफूले जितेको घोषणा गरेको थियो । यससँगै अमेरिकाले विश्व शान्तिको उद्घोष पनि त्यतिबेला देखि गर्दै आएको थियो ।
अहिले पनि अमेरिकी नीति त्यसैमा आधारित देखिएको छ । इरानको ‘न्युक्लियर सेन्टर’माथि बम बर्षा र त्यसपछि युद्ध विराम तथा शान्तिको उद्घोषले यही कुरा पुष्टि गर्छ । तर समय र गतिले अमेरिकाको यो नीति निकै पुरानो भइसकेको र पहलदमी अरूको पोल्टामा गइसकेको कुरा स्पष्टरूपमा इङ्गित गरिरहेको छ ।
हालका दिनमा विज्ञान तथा प्रविधि विकासको हिसाबले अमेरिका पछि पर्दै जाने र अरू देश अघि सर्दै जाने अवस्था सिर्जना हुन गएको छ । अमेरिकाले कहाँ, के र कति बम खसाल्यो भन्ने भन्दा पनि रूस, चीन र अरू उदीयमान शक्तिले के गर्न सक्छन् ? वा के गरिरहेका छन् ? भन्ने कुरामा विश्वको चासो र ध्यान आकर्षित हुँदै गइरहेको छ ।
रणनीतिक वा दीर्घकालिन हिसाबले अमेरिका के चाहन्छ भनेर ब्याख्या विश्लेषण गर्ने त विश्वभर मानिसले गरिरहेका छन् । तर यो कुरा नितान्त अमेरिकी चासो र स्वार्थसँग गाँसेर हेर्न थालिएको छ । अमेरिकाले लिने हरेक पहलकदमी फगत अमेरिकी वा एक देशीय स्वार्थसँग जोडेर हेर्ने अवस्था सिर्जना भइसकेको छ । यसलाई ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराले पनि पुष्टि गर्दै गइरहेको छ ।
यथार्थ कुरा यो भन्दा टाढा पनि छैन । किनभने अमेरिकाले नेटोको स्वार्थ वा पुँजीवादी शक्तिको स्वार्थ वा प्रजातन्त्र र मानव अधिकारको स्वार्थको कुरा गरिरहेको छैन । हालका राष्ट्रपति ट्रम्पले केवल अमेरिकालाई महान् बनाउने कुराको मात्र वकालत गरिरहेका छन् । उनको ‘मेक अमेरिका ग्रेट अगेन’ भनिने नाराले अमेरिकी चासो र तदनुरूपको क्रियाकलापको औचित्य स्पष्ट पारिसकेको छ ।
ट्रम्पले ‘अब अमेरिका अरूका लागि युद्ध लडिदिँदैन’ भनेर बारम्बार दिँदै आएको अभिव्यक्तिले पनि यही कुराको खुल्लमखुल्ला पुष्टि गरिरहेको छ । अमेरिकी बि–टु बम्बरद्वारा इरानका आणविक केन्द्रमाथि बम हमलापछि पत्रकारसँगको साक्षात्कारमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई स्पष्ट गालीगलौजका शब्द प्रयोग गरिरहेका देखिन्छन् ।
यसको अर्थ हो, यदि अमेरिका कहिले नेटो वा युरोपको स्वार्थ त कहिले इजरायलको स्वार्थका लागि अघि सरिदिने हो भने अमेरिकाले आफ्नो अतिमहाशक्तिको क्षयीकरण हुँदै गएको प्रभाव र पकड स्वतः गुमाउँदै जाने छ । त्यो पनि अरूका लागि ! यदि ट्रम्पको भाषा सापटी लिने हो भने ‘एक सुक्को पनि नलिइकन मुफतमा !’ अमेरिका अरूको स्वार्थको बलिवेदीमा होमिन तयार छैन ।
अमेरिकालाई ‘बाछाले’ पनि ‘खेदिरहेको’ अबका दिनमा उसको दिनगन्ती सुरूभइसकेका देखिन्छन् । पाँच सय वर्ष पुरानो भइसकेको पुँजीवादी ध्रुवको नेतृत्व गरिरहेको अमेरिका अबका दिनमा जर्जर भइसकेको त्यो पुँजीवादी ध्रुवको नेतृत्व गर्न र सबै पुँजीवादी देशको संरक्षण गर्न सक्ने अवस्थामा छैन ।
यो बेलामा चीनले ‘अब हामी विश्व व्यवस्थाको अगुवाइ गर्न तयार छौं’ भनी दिएको सन्देश निकै गहिरो र मननीय छ । अन्तरीक्ष आकाशमा अमेरिकाले रूस, चीन, जापान तथा भारतंजस्ता देशको उर्लंदो विज्ञान तथा प्रविधिको उन्नयनको सामना गरिरहेको छ । विश्व सूचना सञ्चार अब अमेरिकाको एकलौटी हातमा छैनन् । विज्ञान प्रविधिमा पहुँच, पकड र विकासमा अमेरिका सापेक्षिक गतिमा दौडिइरहे पनि प्रतिस्पर्धामा तुलनात्मक रूपमा पछि पर्दै गइरहेको छ ।
जतिसुकै महिमा मण्डन गरे पनि आज आएर अमेरिकी बी–टु बम्बरले खसालेका अस्त्रहरूले इरानका भूमिगत आणविक प्रयोगशालामा भेदन गर्न सकिरहेका छैनन् । आफूसँग रहेको प्रविधिमा सुधार र थप आधुनिकीकरण गर्न अमेरिका पछि परेको यो घटनाले सतहमा ल्याइदिएको छ ।
हालको ट्रम्पकै भाषामा ‘स्टार वार’ को समयमा आणविक अस्त्रको धम्की र प्रयोगले के नै अर्थ पो राख्छ र ? आणविक अस्त्र सम्पन्नताका कुरा अब पुराना हुँदै गएका छन् । हालको रूस–युक्रेन लडाइँ र इरान–इजरायल लडाइँले आणविक अस्त्रशस्त्रको धम्कीलाई सामान्यीकरण गरिदिएको छ । किनकि अबका दिनमा त ती आणविक शस्त्रअस्त्र धेरैका हातमा आइसके । भलै त्यसको प्रयोग मानवीय छ कि छैन भन्ने वहस मात्र बाँकी हो ।
यस्तो बेलामा हिरोसिमा र नागासाकीको परमाणु वितण्डा र विनासको मोडल अमेरिकाको पक्षमा र हितमा देखिदैन । आणविक बम खसालिदिएर त्रास सिर्जना गरी विश्वमा राज गर्न सकिन्छ भन्ने भन्ने हिरोसिमाको अमेरिकी मोडल निकै पुरानो र काम नलाग्ने भइसकेको छ ।
यसका साथै, विश्वमा अहिले सूचना सञ्चार आमजनताको हातमा पुगिसकेको छ । सामाजिक सञ्जालले विश्वमा पहिलो स्थान लिइसकेको छ । झुठ र ‘ग्वेवेलियन’ शैली जनतामा पाच्य र स्वीकार्य छैनन् । झुठो कुरा क्षणभरमा सतहमा आइसक्छ । अबका दिनमा गोपनियता कसैको पेवा र पकड भित्र छैन ।
अर्को कुरा, संसारको कुनै पनि महाशक्ति र अतिमहाशक्ति एक्लै बाँच्न सक्ने अवस्था छैन । संसार एकअर्कामा परनिर्भर छ । यो परनिर्भरता दैनिक र दीर्घकालिन दुबै रहेको छ । यसमा थप अर्को कुरा, शक्तिका हिसाबले संसार विभाजित छ । संसार बहुध्रुवीय छ । इजरायललाई साथ दिएर इरानमाथि अमेरिकाले ज्यादती गरिरहेमा चीन, रूस र अन्य देशले इरानलाई प्रत्यक्ष साथ र सहयोग दिन सक्ने संभावनालाई इन्कार गर्न सकिदैन ।
विश्वमा अहिले गम्भीर आर्थिक र भूराजनीतिक मुद्दाहरू छन् । जल सम्झौता, पारवहन सम्झौता, तेल सम्झौता, प्रविधि सम्झौता, परमाणु सम्झौता आदि कति छन् कति ? अमेरिकाले विश्वभर समुद्र घेरेर बसे पनि चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को रणनीति लागू गरी भूजडित सञ्जाल सफलतापूर्वक खडा गरिरहेको छ ।
संसारभर तनाव र उल्झन छ । मात्र रूस–युक्रेन युद्धले सबैको सातो लिइसकेको छ । सबैसँग भएका आणविक अस्त्रशस्त्रको हाराहारीका हतियार सबै यो युद्धमा दैनिक प्रयोग भइरहेका छन् । सबैले सबैको हैसियत देखिसकेका छन् । ड्रोन युगको उत्कर्ष र समाप्ती पनि यही युद्धको चरणबाटै हुन्छ होला भन्ने देखिन थालिसकेको छ ।
पहिलेदेखि चल्दै आएका र अरूलाई उचालेर आफ्नो हैसियत देखाउने ‘प्रोक्सिवार’ अबका दिनमा ‘रियलवार’मा उदाङ्गिएका छन् । युक्रेन युद्धमा ‘नेटो राष्ट्र’ को प्रत्यक्ष र सक्रिय सहभागिता, इजरायल–इरान युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताले अबका दिनमा ‘प्रोक्सीवार’ संभव छैन । अबका दिनमा सिधाका सिधा ‘रियलवार’ नै हुन जाने दिनको घामझैं छर्लङ्ग छ ।
अर्को नाङ्गो यथार्थ भनेको पछिल्लो समयमा इराक र अफगानिस्तानबाट अमेरिकाले बाध्यात्मक रूपमा सिकेका अति तीता पाठ हुन् । तिनले अमेरिकालाई झस्काएका मात्र छैनन् निकै पछाडि धकेलिदिएका पनि छन् । यसको व्यावहारिक अभिव्यक्ति भनेको अमेरिकाले शताब्दीऔं पुरानो ‘हिरोसिमाको मोडल’ अख्तियार गर्न खोज्नु हो । यसको पछिल्लो अभिव्यक्त आशय हो, इरानका आणविक केन्द्रमाथि बी–२ बस्टर्ड बम खसालेर युद्धविराम, वार्ता र शान्तिका कुरा गर्नु !
अमेरिका अबका दिनमा ठूला ठूला आर्थिक, सैन्य र राजनीतिक मूल्य चुकाउन सक्ने हैसियतमा छैन । इरानी प्रतिरोधलगत्तै वासिङ्गटनको युद्धविराम र वार्ताको कुराले यही अन्तर्य छर्लङ्ग्याउँछ । अर्को कुरा, साना राष्ट्र तह लगाउन प्राण त्यागेर लड्नुको के काम ? उसलाई उछिन्दै गएका रूस, चीनतिर आँखा चिम्लन सकिदैन पनि ।
यति नै बेला अमेरिकी घरेलु राजनीति बिष्फोटक अवस्थामा पुगेको छ । ट्रम्पका दाहिने हात बनेका विश्वका धनाढ्य तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले अमेरिकी पार्टीको घोषणा गरिसकेका छन् । यसले ट्रम्पको पाँच वर्षसम्म अकण्टक रहेको ठानिएको कुर्सीमाथि वैधताको ठाडो औंला उठाइसकेको छ । यो अवस्थाको आँकलन अमेरिकामा पहिलेदेखि गरिएको ठानिन्छ ।
त्यसैले गर्दा नै ट्रम्पले दोस्रो विजयको प्रारम्भदेखि नै विश्व कुटनीतिका क्षेत्रमा वार्ता र सुलहका कुरा गर्दै आएका थिए । ट्रम्पको पहिलो कार्यकालमा देखिएको जस्तो गर्जन अहिलेको कार्यकालको सुरूआतीदेखि अनुभूत हुन सकिरहेको थिएन । यी सबै कुराले कसिएको पेचिलो पिञ्जडाभित्र परेका ट्रम्प विश्व कुटनीतिको क्षेत्रमा शान्ति, वार्ता र सुलहका कुरा अघि सार्दै हिँड्न बाध्य भएका थिए र छन् पनि । यही वर्तमान पृष्ठभूमिमा ट्रम्पले अति पुरानो हिरोसिमाको फौजी मोडल बाध्यात्मक रूमा अङ्गालेका देखिन्छन् ।