काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि लागू हुने गरि १४ देशमा नयाँ भन्सार दरको घोषणा गरेका छन् ।
ट्रम्पले यी देशका नेताहरूलाई पठाएको पत्र सामाजिक सञ्जालमा साझा गरेका छन् र नयाँ भन्सार दरहरूको बारेमा जानकारी दिएका छन् । यससँगै, ट्रम्पले लेखेका छन्– ‘तपाईंहरूसँगको हाम्रो सम्बन्धको आधारमा यसलाई परिमार्जन गर्न सकिन्छ ।’
राष्ट्रपति ट्रम्पले म्यानमारमा ४० प्रतिशत, थाइल्याण्डमा ३६ प्रतिशत, बंगलादेशमा ३५ प्रतिशत, इन्डोनेसियामा ३२ प्रतिशत र दक्षिण अफ्रिकामा ३० प्रतिशत भन्सार शुल्क लगाउने कुरा दोर्होयाएका छन् ।
यसअघि ट्रम्पले जुलाई ९ देखि भन्सार शुल्क लगाउने घोषणा गरेका थिए ।
ट्रम्पले घोषणा गरे अनुसार अब म्यानमार र लाओसलाई ४० प्रतिशत, थाइल्याण्डलाई ३६ प्रतिशत, बंगलादेश र सर्बियालाई ३५ प्रतिशत, इन्डोनेसियालाई ३२ प्रतिशत, बोस्निया–हर्जगोभिना, दक्षिण अफ्रिकालाई ३० प्रतिशत, ट्युनिसिया, मलेसिया, काजाकिस्तान, दक्षिण कोरिया र जापानलाई २५ प्रतिशत भन्सार लाग्ने छ ।