काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिमका थोरै तथा गण्डकीका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।