• फाल्गुन २३ २०८२, शनिबार

मनमैजु माविको वार्षिकोत्सव सम्पन्न, ०८१ काे एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

असार २१ २०८२, शनिबार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैजुमा अवस्थित मनमैजु माध्यमिक विद्यालयको ६९औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरे ।

वार्षिक उत्सवका अवसरमा माध्यमिक परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम पनि गरिएको छ । ०८१ को माध्यमिक परीक्षामा मनमैजु माध्यमिक विद्यालयबाट ५५ जना विद्यार्थी उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएको विद्यालयले जानकारी दिएको छ । उत्तिर्ण विद्यार्थीहरुलाई एक समारोहका बीच नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

सो अवसरमा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले आफू यही मनजैजु विद्यालयमै पढेर आज नगरपालिकाको नेतृत्व गर्न सफल भएको बताए । कांग्रेस नेता समेत रहेका प्रमुख महर्जनले सामुदायिक विद्यालयमा दलीयकरण नहुने हो भने शिक्षाको स्तर अझै माथि उठ्ने दाबी गरे । उनले एक प्रसङ्गमा अभिभावक र शिक्षक, शिक्षिकाहरुको राम्रो मेहनत रह्यो भने सामुदायिक विद्यालयको शिक्षाको स्तर पनि माथि उठाउन सकिन्छ भन्ने उदाहरण मनमैजु विद्यालय भएको बताए ।

नगरप्रमुख महर्जनले गरिवका बच्चाबच्चीहरु पढाईबाट बञ्चित नहोउन् भनेर नगरपालिकाले खाजा लगायतको व्यवस्था गरिदिएको बताए । परिक्षामा लेखेर प्राप्त हुने ग्रेडलाई मात्र प्राथमिकता नदिएर समग्र पढाई र सिकाइको स्तर बढाउनेतिर लाग्नुपर्नेमा प्रमुख महर्जनको जोड रहेको छ । यसपालिको एसइई परिक्षाको नतिजाले तारकेश्वर नगरपालिका काठमाडौं जिल्लाकै अब्बल विद्यालयहरुमा पर्न सफल भएको प्रमुख महर्जनले जानकारी दिए ।

सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति भक्तमान महर्जनले मनमैजु विद्यालयमा विद्यार्थीको संख्या बढेको जानकारी दिँदै यो खुसीको कुरा भएको बताए । उनले यसपालिको एसइईमा उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा शिक्षक, शिक्षिकाहरुलाई धन्यवाद दिए । अध्यक्ष महर्जनले विद्यालय भवनको अभावका कारण विद्यार्थी संख्या बढेपनि कक्षा विभाजन गर्न नसकिएको भन्दै तारकेश्वरका नगरप्रमुखलाई भवन थप्ने बजेटको व्यवस्था गरिदिन आग्रह गरे ।

लामो समय शिक्षाक्षेत्रमा काम गरेका भक्तमान महर्जनले सामुदायिक विद्यालयमा विस्तारै परिवर्तन देखा पर्न थालेपनि शिक्षा प्रणालीमै समस्या रहेकोले शैक्षिक बेरोजगारहरु उत्पादन भएको बताए । उनले एक प्रसङ्गमा उनले नेपाल सरकारले सीपमूलक शिक्षा दिन नसकेका कारण विदेश गएका नेपाली युवायुवतीहरु थोरै तलबमा काम गर्न बाध्य भएको बताए ।

कार्यक्रमका अर्का वक्ता तथा शिक्षाप्रेमी श्यामकुमार विष्टले समाज परिवर्तनमा शिक्षाको महत्वको चर्चा गर्दै शिक्षा पढेर कहिल्यै नभ्याइने विषय भएको भन्दै शिक्षामा निरन्तर लागिरहनु पर्ने बताए । अर्का वक्ता तथा कालीदेवी माविका प्रधानअध्यापक कृष्ण ओझाले मेहनत गरेमा शिक्षाको स्तरमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा खासै भिन्नता नहुने रहेछ भन्ने प्रमाणित भएको बताए । कार्यक्रममा मनमैजु माध्यमिक विद्यालयकी प्रधान अध्यापक रविना महर्जनले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा विशेष अतिथिकारुपमा तारकेश्वर नगरपालिकाका पूर्वनगरशिक्षा अधिकारी होमनाथ न्यौपाने, तारकेश्वर नगरका उपप्रमुख सिर्जना बुर्लाकोटी र वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन उपस्थित थिए भने अन्य विशिष्ट व्यक्तिहरु अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रमको बीचमा छात्रा आशिका तामाङले नृत्य, छात्रहरु अनुग्रह सुवेदी र किरण परियारले गीत प्रस्तुत गरेका थिए भने छात्राहरुले समूह नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सोही विद्यालयका छात्र विशाल थामीले कराते खेलको काता प्रस्तुत गरेका थिए ।

सो समारोहमा विद्यालयकी शिक्षिका देवकी अधिकारीद्धारा रचित विद्यालय गान ‘हाम्रो मनमैजु, राम्रो मनमैजु’ बोलको गीत प्रस्तुत गरिएको थियो । प्रअ रविना महर्जनले सो गीतलाई आजकै दिनदेखि मान्यता प्रदान गरी विद्यालयको दैनिक एसेम्लीमा प्रस्तुत गरिने जानकारी दिइन् ।

कार्यक्रममा उपस्थित अभिभावक, सहभागी र विद्यार्थीहरुलाई नेपाल स्काउटका विद्यार्थी र विद्यालयका कप्तान र सहकप्तानहरुले पानी खुवाउने लगायतका सेवा प्रदान गरेका थिए । साे समाराेहमा शिक्षण तथा सिकाइमा राम्राे प्रस्तुती दिने शिक्षिकाहरूलाई पनि सम्मान गरिएकाे थियाे ।

कार्यक्रमकाे संचालन विद्यालयका सहायक प्रधान अध्यापक सन्दीप सापकाेटाले गरेका थिए ।