१९ असार दाङ ।
दाङको बंगलाचुली गाउँपालिकाले कृषकहरुलाई मुर्रा जातको बेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्ल सुधार कार्यक्रम अन्तरगत शतप्रतिशत मुर्रा राँगो वितरण गरेको हो ।
बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा कृषकहरुका लागि आज ती राँगाहरु वितरण गरिएको हो ।
गाउँपालिकाले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट लिएको मुर्रा राँगो वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष पुनमगरले राँगोलाई कृषक समूहको जिम्मा लगाएको बताए । गाउँपालिकाको ५० प्रतिशत अर्थात् २ लाख र कृषक समूहरुको ५० प्रतिशत अर्थात २ लाख गरी जम्मा ४ लाखमा राँगाको खरीद गरिएको थियो ।
प्रति मुर्रा राँगो २ लाख रुपैयाँ परेको बंगलाचुली गाउँपालिका पशुसेवा शाखा कार्यालयका पशुस्वास्थ्य अधिकृत माधव भट्टराईले जानकारी दिए ।
सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्रबहादुर गाहामगर, बंगलाचुली गाउँपालिकाका पशुसेवा शाखा प्रमुख माधव भट्टराई र सहायक कम्प्युटर अपरेटर प्रेम बहादुर डाँगी लगायतको सहभागिता रहेको पत्रकार जीवन नेपालीले जानकारी दिए ।