• फाल्गुन ३० २०८२, शनिबार

विराटनगरमा जीवितलाई मृत घोषणा गरेर जग्गा पास, वडाध्यक्षकै मिलेमतो !

असार १३ २०८२, शुक्रबार

विराटनगर । विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरेर नक्कली कागजातमार्फत जग्गा हडपिएको घटना सार्वजनिक भएको छ । विराटनगर–११, पिचरा टोलका ७० वर्षीय केदारबहादुर बस्नेतको नाममा झुटो सर्जिमिन मुचुल्का तयार पारेर २०५८ सालमै उनको मृत्यु भएको देखाइएको पाइएको हो । त्यसकै आधारमा उनका नाममा रहेको जग्गा गैरकानुनीरूपमा नामसारी गरिएको थियो ।

यस प्रकरणमा विराटनगर महानगरपालिकाका वडाध्यक्षको समेत मिलेमतो देखिएको छ । पीडित बस्नेतले मोरङ जिल्ला अदालतमा तत्कालीन वडाध्यक्ष, वडासचिवसहित १० जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विराटनगर–२ का तत्कालीन वडाध्यक्ष कुमार पोखरेल, वडासचिव सूर्यबहादुर थापा र उनका आफ्नै दाजु भरतबहादुर बस्नेत मिलेर फर्जी प्रक्रिया अघि बढाएको बस्नेतको दाबी छ ।

फिरादपत्रअनुसार, तीन कठ्ठा आठ धुर क्षेत्रफल भएको जग्गा बस्नेतको मृत्यु भएको झुटा विवरण राखेर भरतबहादुरको नाममा दर्ता गरिएको छ । जग्गा तेस्रो पक्षलाई समेत बिक्री भइसकेको छ ।

सर्जिमिन प्रक्रिया २०७५ असोज १७ मा गरिएको र त्यसको दुई दिनपछि इनरुवा मालपोत कार्यालयमा नामसारीको सिफारिस पठाइएको थियो । तर, पीडितलाई घटनाको जानकारी २०८२ जेठ ११ गतेमात्र भएको हो । वडाध्यक्ष पोखरेलले भने आफूले सचिवले तयार पारेको कागजातमा हस्ताक्षर गरेकाले सानो त्रुटि भएको दाबी गरेका छन् ।

पीडितले मुलुकी अपराध संहिता २०७४ को दफा २७९(३) अनुसार दोषीहरूमाथि हदैसम्मको कैद र जरिवाना माग गर्दै न्यायका लागि अदालतमा मुद्दा दायर गरेका छन् ।