कतार लगायत विभिन्न देश जान लागेका नेपालीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्ली भएको छ । हिजो राती क़तारमा इरानले मिसाइल हाने पछी अन्तरराष्ट्रिय उडान नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका हुन् ।
सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालसम्म देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार जान तयारी अवस्थामा रहेका ५ सयभन्दा बढी नेपाली यात्रु बिचल्लीमा परेका छन्।
नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत प्रभावित देशतर्फ उड्न तयारीमा रहेका यात्रुहरू सोमबार राति ११ बजे बोडिङ पास लिएर विमान चढ्न प्रतीक्षारत थिए। तर इरानको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै दुवै उडान अन्तिम समयमा रद्द गरिएपछि यात्रुहरू रातभर विमानस्थलमै बस्न बाध्य भए।
‘बोडिङ पास पाएपछि हामीलाई फ्लाइट नहुने जानकारी दिइयो। होटलमा बस्न वा खानाको व्यवस्था पनि हुन सकेन,’ एक यात्रुले भने।
कतार, जहाँ करिब ४ लाख नेपालीहरू रोजगारीका लागि रहेका छन् । हाल इरान-इजरायल तनावको प्रभाव कतारमा पनि परेको छ। मिसाइल आक्रमणको मुख्य निशाना कतारस्थित अमेरिकी सैन्य बेस भए पनि त्यसले त्यहाँको हवाई सुरक्षा व्यवस्थामा तत्काल असर पारेको थियो। त्यसैका कारण काठमाडौँबाट दोहा जाने उडानहरूमा तत्काल स्थगन भएको एयरपोर्ट स्रोतको भनाइ छ।
यात्रुहरूले एयरलायन्स कम्पनीले कुनै स्पष्ट जानकारी नदिएको, विकल्पको व्यवस्था नगरेको र आफूहरूलाई सहयोग पनि नगरेको गुनासो गरेका छन्। धेरै यात्रुहरू विदेशी रोजगारमा जान लागेका थिए भने कोही आफ्ना परिवार भेट्न कतार जान लागेका थिए।
यसैबीच, कतारले निलम्बन गरेको एयरस्पेस हाल खुला भएको समाचारहरूमा जनाइएको छ ।