• फाल्गुन २४ २०८२, आईतवार

इरानको जवाफी ड्रोन हमलामा इजरेलका अपार्टमेन्टहरु खण्डहरमा परिणत

असार ८ २०८२, आईतवार

तेहरान । अमेरिकाले इरानमा हमला गरेलगत्तै इरानले पनि इजराइलमा आक्रमण गरेको छ । आइतबार राति अमेरिकाले तीन वटा आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले दिउँसो इजराइलमा मिसाइल हानेको हो ।

अमेरिकी मिडिया सिएनएनका अनुसार इरानले इजराइलको राजधानी तेल अभिभ नजिकै अपार्टमेन्ट भवनहरूमा मिसाइल र ड्रोनले हमला गरेको हो ।
इरानी हमलाबाट त्यहाँका भवनहरू खण्डहरमा परिणत भएका छन् । चार तलाका धेरै भवनहरू क्षतिग्रस्त भएको सिएनएनले उल्लेख गरेको छ । अमेरिकाले इरानमा हमला गरेयता इरानले पनि इजराइलमा आक्रमण मिसाइल र ड्रोनले हानिरहेको छ ।

इजराइलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहानदेखिको आक्रमणमा इजराइलमा ८६ जना मानिसहरू घाइते भएका छन् । तीमध्ये ७७ जना मध्यम घाइते छन् । इरानी हमलाबाट क्षतिग्रस्त भवनको भग्नावशेष हटाउन अहिले त्यहाँ ठूला ठूला मेसिन प्रयोग गरिएको छ ।

आइतबार बिहान साढे २ बजे अमेरिकाले इरानको आणविक रिएक्टर केन्द्रमा हमला गरेको थियो । अमेरिकाले नतान्ज, फर्दो र इस्फहानको आणविक परियोजनामा हमला गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आणविक कार्यक्रम ध्वस्त पारिएका दाबी गरेको छन् । यसबारे इरानले भने अमेरिकाले बम हान्नु अगावै ती परमाणु केन्द्रबाट उपकरणहरु अन्तै सारिसकिएकोले खासै क्षति नभएको प्रतिकृया दिएको छ ।