असार ६, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार अभियुक्त अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा रोकालाई शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो ।
उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्यूजन नोटिससमेत जारी गरेको थियो । उनी सुन तस्करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन् ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको ६१ किलो सुन बरामद गरेको थियो ।
रोकाको माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनसँग निकटता रहेको समाचारहरू सार्वजनिक भएका थिए । उनले वर्षमान पुनसँग बसेर गरेको डिनरको फोटो चर्चित छ ।