काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताएका छन् । सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै ज्वालाले बजेट झापा, रूपन्देही र काठमाडौँको निम्ति आएको र मन्त्रीहरूको एकलौटी कब्जामा परेको टिप्पणी गरेका छन् ।
बजेटले दुर्गमलाई नछोएको बताउँदै उपाध्यक्ष ज्वालाले मन्त्रीहरू आफ्ना दलका कार्यकर्तालाई बाढेको स्मरण गराएका छन् । उनले भने– ‘दुर्गमका अस्पतालमा लगानी छैन् । यहाँ मन्त्रीहरूले आफ्ना कार्यकर्तालाई मनलाग्दी रकम बाढेको देखियो । अर्कातर्फ तीन करोडका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई लत्याउने काम भएको छ । यो बजेटले समाजवाद दर्शन भुलेको छ । बाटो बिराएको छ ।’
साथै सांसद ज्वालाले संसदमा प्रतिपक्षी दलद्वारा ह्वेल घेराउ र नाराबाजीका विच संसद चलाउनु दुखद कुरा भएको बताउदै नियमावली अनुसार र हाम्रो संसदीय अभ्यासले पनि यस्ता अवस्थामा संसदको कार्बाही चल्न नसक्ने बताएका थिए ।
उनले शहरी विकास मन्त्रालय लगायतको बजेट किताबको उदाहरण दिदै बजेटलाई सरकारका मन्त्रीहरु र सत्ता पक्षका नेताहरुले एकलौटी गरेको बताए ।
उनले भने– ‘बजेटमा ब्रह्मलुट मच्चाइएको छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनका पार्टी कार्यालय बनाउन अरबौं बजेट बाँडिएको छ । जब कि दुर्गम जिल्लाहरुमा स्वास्थ्य चौकी, खानेपानी, विध्यालय भवनजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरुमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरुले बजेटमा हालीमुहाली गरेका छन् । केन्द्रमा ३ करोडभन्दा माथिका योजनामात्र छनौट गर्ने योजना आयोगको निर्देशिकालाई धज्जी उडाउदै १ लाख, ५० हजार, १ हजारसम्मका योजनामा बजेट छरपस्ट गरिएको छ । बजेट बनाउदा र वितरण गर्दा नै ठूलो भ्रष्टाचार र अनियमितता भएको छ । के देश भनेको झापा, रुपन्देही र काठ्माण्डौंमात्र हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नाङ्गो नमूना अरु के हुन सक्छ ? के यसरी नै आर्थिक अनुशासन कायम गर्न खोज्नु भएको छ अर्थ मन्त्री ज्यू ? यस्तो जनविरोधी, मन्त्रीमूखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ ? यसमा हाम्रो घोर आपत्ति र विरोध छ ।’