• असार २ २०८२, सोमबार

साम्राज्यवाद विरोधी कमाण्डर त्राउरेको सफलता

असार २ २०८२, सोमबार

कुनै कुनै बेलामा कोही यस्ता मानिसको उदय हुने गर्छ, जसले संसारमा केही न केही तरङ्ग ल्याउने गर्दछन् । त्यस्ता तरङ्ग राजनीतिक, आर्थिक वा सामाजिक जे पनि हुन सक्छन् । अहिले विश्व राजनीतिमा एउटा तरङ्ग आएको छ, त्यो हो, अफ्रिकी महादेशमा रहेको एक विपन्न देश बुर्किना फासोका नयाँ राष्ट्रपति त्राउरेको उदय !

पेसा र इतिहासका हिसाबले त्राउरे बुर्किना फासोका सैन्य अधिकारी हुन् । उनी सेनाका क्याप्टेन पनि हुन् । तर यति बेला भने उनी बुर्किना फासोका अन्तरिम राष्ट्रपति हुन् । यस अघि उनलाई धेरैले वा संसारका अरू मानिसले चिन्दैनथे ।

सन् २०२२ पछि भने उनी विश्वका चर्चित कार्यकारीमध्ये एकमा पर्छ् । उनी अफ्रिका महादेशमा आशाका केन्द्र बनेका छन् । विश्वका शक्तिशाली देशका शासकका आँखामा भने उनी कसिङ्गर बन्न पुगेका छन् ।

अफ्रिकी महादेशबाट गोरा मुलुकमा लगिएका मानिसलाई दास बनाउने दासप्रथाको समयदेखि हालसम्म उपनिवेश र नवउनिवेश कायम गर्दै आएका देशका शासक अहिले राष्ट्रपति त्राउरेको त्रासमा परिरहेका छन् । अमेरिका, फ्रान्स र बेलायत जस्ता महाशक्ति देशले अहिले त्राउरेतिर गहिरा आँखाले हेर्दै गम्भीरताका साथ नियालिरहेका छन् । किनकि भखैरै उदाएका नेता तथा एक द्रष्टा त्राओरेको वैचारिक भिजन र सोचसहितको कदमले नवउपनिवेश कायम गर्दै आएका यी देशको स्वार्थमा गहिरो धक्का दिँदै गएको छ ।

बुर्किना फासोको प्राकृतिक सम्पदाले भरिपूर्ण, सुन्दर तर गरीब गाउँको एक मध्यम परिवारमा त्राउरेको जन्म भएको थियो, आजभन्दा ३५ वर्ष अगाडि । बोन्दोक्वे नामक गाउँमा जन्मेका उनी ग्रामीण परिवेशमा हुर्किए ।

सानै उमेरदेखि हट्ठाकट्ठा र विचारका हिसाबले तीक्ष्ण उनी अहिले देशका राष्ट्रति बनेका छन् । स्नातक तहसम्म अध्ययन गरेका उनी अर्थशास्त्रमा पनि गहिरो रूचि राख्छन् । सैन्य सेवासँगै देशको सिङ्गो अवस्थाको अध्ययन गरेका त्राउरेको थप रुचि देशको अस्तव्यस्त व्यवस्थाप्रति बढ्दै गयो । यही क्रममा उनको राजनीतिक विचारले परिवक्वता हासिल गर्दै गयो । वामपन्थी पृष्ठभूमिमा हुर्केका उनी विद्यार्थी सङ्गठनका माथिल्लो ओहदाका निर्वाचनमा विजयी हुँदै गएका थिए पनि ।

नातक अध्ययन सकेर सन् २००९ मा राष्ट्रिय सेनामा भर्ती भएका त्राउरे सैन्य सेवामा पनि लगातार बढुवा हुँदै र उन्नति गर्दै गए । अर्को अफ्रिकी देश मोरक्कोमा लडाकु विमान खसाल्ने ‘एन्टी एयरक्राफ्ट’ तालिम लिएका उनी बुर्किना फासो थलसेनाका अधिकारी बनेका थिए ।

अफ्रिकी देशमै विद्रोह र प्रतिविद्रोहको चक्र देखेका र स्वयम् भोगेका त्राउरे सामाजिक तथा राजनीतिक अन्तरविरोधको मिहिन अध्ययमा जोडिए । युरोपीय देशहरूले आफ्नो उपनिवेश कायम भएका देशमा जनताको विद्रोहलाई ‘आतङ्कवादी गतिविधि’ करार गरिरहेका थिए ।

अफ्रिकी देशमा यस्ता विद्रोहको सङ्ख्या अति नै बढ्दै गएपछि र राज्यसत्ताको तर्फबाट दमन पनि बढ्दै र बढाउँदै लगिएपछि त्राउरेले यी गतिविधिका बारेमा समीक्षा गर्न थालिसकेका थिए ।

सैन्य कामको सिलसला अघि बढ्दै गयो । त्राउरे सन् २०१४ मा लेफ्टिनेन्टको ओहदा सम्हाल्न पुगे । समय क्रमसँगै उनी संयुक्त राष्ट्र संघको शान्ति सेनामा पनि संलग्न भएर अफ्रिकी देश मालीमा शान्ति स्थापनार्थ टिम लिएर पुगे । यो अवसरका उनले आफ्नो नेतृत्व क्षमता र वीरता प्रदर्शन गरे । मालीमा केही लामो समय उनी बसे । त्यहाँको गृहयुद्ध निकै सावधानीका साथ हेरे पनि ।

मालीको उत्तरी भेगमा बाक्लो बस्ती रहेको तुरेग जातिका मानिसको विद्रोह निकै चाखका साथ हेरे पनि । छुट्टै देशको माग राख्दै आएका यी जाति सरकारविरुद्ध ‘मुक्ति सङ्घर्ष’ गरिरहेका थिए । देशमा अस्थिरता थियो । यहाँ पश्चिमा देशको चलखेल पनि निकै थियो । त्राउरेले विद्रोहीहरूले प्रयोग गर्ने रणनीति, सरकारले गर्ने दमन र पश्चिमा देशले खेल्ने गरेका चालबजीका बारेमा चासोपूर्वक अध्ययनको सिलसिला अघि बढाए ।

उनी विद्रोहीहरूले प्रयोग गर्ने ‘लाल आतङ्क’ र सरकारले प्रयोग गर्ने ‘श्वेत आतङ्क’का बारेमा पनि दीक्षित हुँदै गए । उनले मालीमा शान्ति सेनामा काम गर्दै गर्दा बुर्किना फासोमा पनि मुस्लिम जिहादी आक्रमण बढ्दै जान थाल्यो । यसको समाधानका लागि त्राओरेलाई युएन शान्ति मिसनबाट स्वदेश फर्काइयो । सुरूमा त त्राउरे सैन्य क्याप्टेनको जिम्मेवारीसहित जिहादी दमनमा उत्रिए । तर जब सर्वसाधरण जनता नै सडकमा उत्रिए, तब त्राउरेको मनमा परिवर्तन आयो । किनकि जनता परिवर्तनको माग लिएर सडकमा उत्रिएका थिए ।

अब उनले देशको सरकारलाई अविश्वासका आँखाले हेर्न थाले । उता सेनामा पनि आफ्नै जनता मार्न र दमन गर्न त्यति उत्साह देखिएन । सेनाले तलव र रसद पानीसम्म पाउन सकेका थिएनन् । बुर्किना फासोको सरकार मरनासन्न अवस्थामा थियो । त्यो सरकारले बेलायत र फ्रान्सको मुख ताकेर ऋण याचना गरिरहेको थियो । तर नेताका बसाइ राजर्षि र महङ्गो थियो । जनताले हरेक काम गर्न घुस खुवाउनु पथ्र्यो ।

अब विकल्पमा सैनिक विद्रोह भयो, सन् २०२२ जनवरीमा । त्राउरेका साथी तथा सेनाअधिकारी पौल–हेनरी सान्दोगो दामिबाले सत्ता सम्हाले । तर उनले जनताको इच्छाअनुसार काम गर्न सकेनन् । जनता भड्कन थाले । देशमा सामान्य प्रगति पनि हुन सकेन । जिहादीको विद्रोह बढेर गयो । देशका धेरै सैनिकको हताहती हुँदै गयो ।

उता विद्रोही भने नयाँ उभारसहित सफलताको उचाइमा पुग्न थाले । देशमा केही गरौं भने सैनिक विद्रोहमा साथीलाई साथ दिएका त्राउरे आश्चर्यमा पर्न थाले । जनता सडकमा उत्रने गतिविधिमा बढोत्तरी हुँदै गयो । पश्चिम अफ्रिकाका अरू देश ओगादुगु, नियामे र मालीमा पनि सैनिक विद्रोह हुँदा जनता हर्षबढाइँ गर्दै सडकमा उत्रिए । जनतामा परिवर्तनको आशा र उत्साह भरिएको थियो ।

तर जनताले बोकका झण्डामा पुटिन समर्थनसहितका रूसी झन्डा सरोबर मिसिएका देखिन थाले । त्राउरे यिनै जनतासँग थिए । यसैमा पश्चिम अफ्रिकाका सबै जनता एक ढिक्का बनेका थिए । यही क्रममा सन् २०२२ मा बुर्किना फासोमा अर्को सैनिक विद्रोह भयो । यो विद्रोहले क्याप्टेन इब्राहिम त्राउरेलाई अघिल्तिर उभ्याइदियो । उनी बुर्किना फासोका राष्ट्रपति भए । आफूले क्याप्टनकै तलव खाए । तर नयाँ सरकारका मन्त्रीहरूको तलवमा ३० प्रतिशतले कटौती गरे । तर कर्मचारीको तलवमा ५० प्रतिशत बृद्धि गरिदिए । उनी देशका लागि ठोस योजना र भिजन लिएर अघि बढे । आज उनी बुर्किना फासोमा मात्र होइन, पश्चिम अफ्रिका र पूरै अफ्रिका महादेशमा मुक्तिदाता मानिएका छन् ।

आज उनकै नेतृत्वमा बुर्किना फासो शान्ति, सुरक्षा तथा समृद्धिको बाटोमा अघि बढिरहेको छ । उनले निरन्तर अघि बढाएका ऐतिहासिक कामका विवरण यस्ता छन् । सन् २०२३ फेब्रुअरीमा राष्ट्रपति त्राउरेले बुर्किना फासोबाट फ्रान्सेली सेनालाई फिर्ता पठाइदिए । फ्रान्सेली सेना त्यहाँबाट गएपछि स्थानीय विद्रोही साम्य भए ।

सन् २०२३ अप्रिलमा उनले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन जनपरिचालन सहितको नीति तथा कार्यक्रम अघि सारे । ‘स्वेदश रक्षा बल’ स्थापना भयो । ५० हजार भर्तिको अनुमान गरिएको उक्त जनपरिचालनमा देशभरका ९० हजार स्वयंसेवक भर्ती भए । आज देशमा ‘रक्षाबल’ को भूमिका व्यापक बनेर गएको छ ।

सन् २०२३ जुलाई २९ को दिन त्राओरेले बुर्किनाबे जनताले रुसको समर्थन गर्ने घोषणा गरे । रुस–अफ्रिका शिखर बैठक भर्खर टुंगिएको स्थितिमा त्यो भनाइ आएको थियो । साथै त्राओरेले रुसी राजदूतावास पुनः खोल्नका लागि पत्राचार गरे । सन् १९९२ मा बन्द भएको रुसी दूतावास सन् २०२३ डिसेम्बरमा पुनः खोलियो ।

सन् २०२३ सेप्टेम्बरमा उनले बुर्किना फासो, माली र निजरजस्ता देशको ‘सहेल गठबन्धन’ निर्माण गरे । परम्परागत बुर्किनाबे पोशाकलाई मान्यता दिए । अदालतमा प्रयोग गरिने बेलायती पोशाक हटाइदिए ।

अहिले त्राउरेको शासन कालमा बुर्किना फासोको कूल गार्हस्थ उत्पादन बढिरहेको छ । १८ अर्ब ८० करोडको ‘जीडीपी’ बढेर अहिले २२ अर्ब १० करोड पुगेको छ । उनले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बङ्कजस्ता बहुराष्ट्रिय दाताहरूको सहयोग अस्वीकार गरिदिएका छन् । उनी आर्थिक स्वाधीनताको पक्षमा छन् ।

सन् २०२३ देखि बुर्किना फासोको मन्त्रिपरिषद्ले देशमा सुन प्रशोधन केन्द्र हातमा लियो । यो फ्रान्सको एकलौटी थियो र देशको सुन बाहिरिइरहेको थियो । यसबाट देशमा एक सय प्रत्यक्ष र ५ हजार अप्रत्यक्ष रोजगारी सिर्जना हुन गएको छ । यहाँ एक दिनमा ४ सय किलो सुन उत्पादन हुन्छ । जसको बजार मूल्य सामान्यतः दैनिक ४ करोड १५ लाख डलर हुन्छ ।

बुर्किना फासो विश्वको १३ औँ ठूलो सुन उत्पादक देश हो । यहाँ हरेक वर्ष १०० टन सुन उत्पादन हुन्छ । जसको कूल मूल्य ६ अर्ब डलर हुन आउँछ । हाल बुर्किना फासो र रूसले आणविक ऊजा विकासको शान्तिपूर्ण प्रयोगमा साझेदारी गर्ने मार्गचित्र बनाएका छन् ।

सन् २०२४ अगस्तमा बुर्किना फासोले देशका दुई सुन खानीलाई झन्डै ८ करोड डलर भुक्तानी गरेर राष्ट्रियकरण गरी रोजगारीको व्यापक क्षेत्र स्थापना गरेको छ । ¥हाल देशमा पहिलो औषधि उत्पादन केन्द्रको स्थापना भएको छ । कृषिजन्य उत्पादन प्रशोधन र बजारीकरणका पहल लिइएको छ । नयाँ सिमेन्ट कारखाना खोलिएका छन् ।

देशमा भइरहेको विकासका लागि इब्राहिम त्राउरे पश्चिमा देशका लागि खतरा बनिरहेका छन् । पश्चिमा देशहरूले यही कुरा घोषणा गरेका छन् । यो त्राउरेका लागि चुनौती पनि हो । तर उनी अफ्रिकी एकताका सच्चा हिमायती हुन् र अफ्रिकी देशका नयाँ आशा र भरोसाका केन्द्र पनि ।