• असार २ २०८२, सोमबार

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

असार १ २०८२, आईतवार

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेट विनियोजिन गरेको जानकारी दिएका छन् । त्यस्तै बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अनुमान गरिएको छ ।

बजेटले आगामी आर्थिक बर्षमा आर्थिक वृद्धिडर ६.५ प्रतिशत हुने अनुमान गरेको छ ।

आगामी आर्थिक बर्षको खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजश्वबाट ७ अर्ब ७८ करोड ४ लाख, रोयल्टीबाट ४१ करोड ५० लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ६६ करोड १५ लाख समपुरक अनुदानबाट ५१ करोड ४० लाख र विशेष अनुदानबाट ४० करोड ४६ लाख र बाँकि अपुग २ अर्ब  नगद मौज्जातबाट बेहोरिने उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वाथ्य सेवामा पहुँच, उद्यमशिलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकासलाई प्राथमिकतामा राखेको छ ।