पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ।
मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमराका तीन जना मजदुरको उपचारकोक्रममा विराटनगरमा मृत्यु भएको हो।
पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि घाइते मजदुरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। उपचारकोक्रममा बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी र प्रकाश चौधरीसँगै २७ वर्षीय राजन चौधरीको मृत्यु भएको घोषणा चिकित्सकले गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।
घाइतेमध्ये अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते सबैलाई उपचारका लागि शनिबार राति नै पाँचथरबाट नोबेल अस्पाल विराटनगर पठाइएको थियो।शनिबार निर्माणकैक्रममा बेलिब्रिज खस्दा ६ जना मजदुर घाइते भएका थिए ।
मेची राजमार्गअन्तर्गत पर्ने हेवा खोलाको बेलिब्रिज निर्माण कार्य सडक डिभिजन इलामले गर्दै आएको थियो । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने यो पुल निर्माणकोक्रममा भाँचिएसँगै वर्षाको समयमा ताप्लेजुङसहित पाँचथरका केही गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुने जोखिम बढेको छ ।