• असार १ २०८२, आईतवार

पोखरा तिखेढुङ्गामा दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा

जेष्ठ ३२ २०८२, शनिबार

पोखरा । पोखरा महानगरपालिका–३३ सुरौदीखोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाखभन्दा बढीका तरबुजा बेचेका छन् । उनीहरूले छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् ।

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकामा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण पाँच लाख बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाएबापत महानगरपालिकाले उनीहरूलाई पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजा खेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । परीक्षणका रूपमा गरिएको तरबुजा खेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए ।

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा करिब चार सय टन (दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए ।