जेठ ३०, काठमाडौं । प्रतिनिधिसभाका तीन ठुला राजनीतिक दलबीच भएको सहमतिअनुसार सत्ता र प्रतिपक्षबीच दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्ष दलका तर्फबाट प्रमुख विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ,’ पहिलो बुँदामा भनिएको छ ।
त्यसैगरी दोस्रो बुँदामा भनिएको छ, ‘अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।’