जेठ २९, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (पेट्रोलियम पदार्थ)को मूल्य फेरि उकालो लागेको छ । कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ७० डलर नजिक पुगेको आयल प्राइस डटकमले जनाएको छ ।
गत चैतको अन्तिम साता कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ५६.९६ डलरमा कारोबार भएको थियो । पछिल्लो समय ६० डलरको आसपासमा रहेको कच्चा तेलको मूल्य फेरि बढ्दै गएको हो ।
ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ६९.३४ डलरमा कारोबार भएको छ । यस्तै, मुरवान क्रुडमा ६९.२० डलरमा कारोबार भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएर विभिन्न मुलुकसँग अघोषित व्यापार युद्ध थालेपछि कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको थियो । पछिल्लो समय ट्रम्प चीनलगायत कतिपय मुलुकसँग थप भन्सारदर लगाए पनि पछि हट्दा यसको असर कच्चा तेल बजारमा परेको छ । अहिले अमेरिकाले उत्पादन कम गरेपछि पनि बजारमा कच्चा तेलको भाउ बढेको हुन सक्ने अनुमान गरिएको छ ।
भण्डारण गर्दै र आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँले अब विश्वबजारमा तेल बेच्ने तयारी गरेको छ । अमेरिका अझै पनि विश्वको कच्चा तेल धेरै उत्पादन गर्ने मुलुकमा पर्छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । रुस–युक्रेन युद्ध अझै जारी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि यसको असर नेपाली बजारमा पर्छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाइसकेको छ ।