लस एन्जलस । धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै चार सय जना गिरफ्तार भएका छन्।
यसरी गिरफ्तार भएका मध्य तीन सय ३० जना कागजात नभएका आप्रवासी छन्। अन्य एक सय ७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ।
प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरिएको आरोपमा पनि गिरफ्तार गरिएको छ। दुई भिन्न घटनामा प्रहरी अधिकारीमाथि विस्फोटक ककटेल प्रहार गरिएको आरोपमा पनि दुई जनालाई गिरफ्तार गरिएको हो।
प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको थियो। लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताएकी छिन्। उनले शान्त रहेको सहरमा शुक्रबार आप्रवासी धरपकड सुरु गरेर अशान्त बनाएको आरोप लगाएकी हुन्।
बासले मंगलबार शहरमा व्यापार नै प्रभावित भएका कारण कर्फ्यु घोषणा गरेकी थिइन्। प्रहरी प्रमुख जिम म्याक डोनाल्डले केही स्थानमा असामान्य अवस्था आइसकेको बताएका थिए। अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले ह्वाइट हाउसमा बोल्दै यस असहज अवस्थालाई हटाउन कर्फ्युले धेरै सहयोग गरेको बताए।