• जेष्ठ ३१ २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दै, अवरोध कायमै

जेष्ठ ३० २०८२, बिहीबार

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ १३ गतेदेखि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

उनीहरूले उक्त प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने माग राख्दै आएका छन् ।