काठमाडौँ । दुई पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पूर्जी जारी हुनु निन्दनीय कार्य भएको बताएका छन् ।
बुधबार पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि श्रेष्ठ र शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।
श्रेष्ठले पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निरङ्कुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरोधी निन्दनीय कार्य भएको बताए । उनले पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग समेत गरे ।
उनले सञ्चार माध्यममा निराधार, गलत र गैरजिम्मेवार समाचार पनि प्रसारण हुने गरेका भन्दै त्यस्तो पत्रकारितालाई भने सच्याउनु जरुरी रहेको श्रेष्ठको भनाई छ । त्यस्तै पूर्वगृहमन्त्री शर्माले पनि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निन्दनीय कार्य भएको बताए ।
समाचार लेखे बापत पत्रकारलाई पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रता एवं संविधान विपरित कार्य भएको बताउँदै गलत समाचार प्रकाशित गरेमा प्रेस काउन्सिलमार्फत् आवश्यक प्रक्रिया चाल्न सकिने उनले बताए ।
पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।