• जेष्ठ २५ २०८२, शनिबार

संघीय संसदका आज चार संसदीय समितिको बैठक बस्दै

जेष्ठ २४ २०८२, शुक्रबार

काठमाडौँ । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। संघीय संसद समिती अन्तर्गत पहिलो बैठक राज्य व्यवस्था तथा सुशासन समितिको ७६ औँ बैठक बिहान साढे आठ बजे बस्नेछ ।

बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै, बिहान साढे आठ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ। बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी रहने सम्मेलनबारे छलफल हुनेछ। उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ।

यस्तैगरी, सार्वजनिक लेखा समितिको ४३ औँ बैठक पनि आज बस्दै छ। बिहान १०:३० बजे बस्ने बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ७३ औँ बैठक आज बस्दै छ। बिहान ९ बजे बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।