२२ जेठ, काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्मको नयाँ पोस्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ ।
पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अँगालोमा बाँधिएका छन् भने छोटो कपालको साथमा नायिका नीति शाहको अँगालोमा बाँधिएको देख्न सकिन्छ । यसले कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ जगाएको छ ।
फिल्म ‘मोहर’ लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ । फिल्मको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ । यसैले पोस्टरबाटै दर्शकमाझ निर्माण पक्षले कौतुहलता जगाउन खोजेको प्रस्ट हुन्छ ।
चुम्बनजंग शाहीको निर्माणमा तयार भएको फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्माको पनि मुख्य भूमिका छ ।
दिपेन बस्न्यातको छायाङ्कन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द छ । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकको रूपमा छन् ।