• जेष्ठ २३ २०८२, बिहीबार

विपक्षीको तीन सर्तमा सहमति नहुँदा स्थगित भयो प्रतिनिधिसभा बैठक

जेष्ठ २१ २०८२, मंगलवार

जेठ २०, प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । पछि दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको थियो ।

तर, २ बजेका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै लगातार संसद बैठकमा अवरोध गर्दै आएका छन् ।

विपक्षी दलहरूले अघि सारेका तीनवटा सर्त पूरा गर्न सत्तापक्ष तयार नभए संसद चल्न नदिने निष्कर्ष विपक्षी दलहरूको बैठकले निकालेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

१. उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहनुभएका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन र आयोग बनाउने र यसलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने ।

२. आवश्यक छानबिन गर्न मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीज्यूले छानबिनको परिणाम नआएसम्म अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ ।

३. यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीज्यूले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने ।