• जेष्ठ २३ २०८२, बिहीबार

कुकुरले मुखमा च्यापेर ल्यायो नवजात शिशुको शव

जेष्ठ २१ २०८२, मंगलवार

जेष्ठ २०, मुगु । जुम्ला जिल्लाको हिम गाउँपालिका–१ आचार्यलिही गाउँमा साल नालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीय नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको थियो ।

कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गरिएको हो । इलाका प्रहरी चौकी नराकोटका बरिष्ठ हलदार दीपक गुरुङका अनुसार घटनास्थल नराकोटको कार्यक्षेत्रमा नपरे पनि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा बड्की प्रहरी चौकीबाट टोली परिचालन गरिएको हो ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।

शवलाई मङ्गलबार बिहान पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशङ्का गरिएको छ । शिशु फाल्ने व्यक्तिको पहिचान हुन नसकेको उनको भनाइ छ ।