२० जेठ, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीसँग राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत मंगलबार पूर्वाधार विकास समितिमा भएको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘यातायात व्यवसायीको सन्दर्भमा राति एउटा सम्झौता भयो । प्रदेशको अधिकार हनन हुनेखालको सम्झौता भयो भन्ने प्रश्न उठेका छन् । तर प्रदेशको अधिकार हनन हुनेखालको सम्झौता गरेका छैनौं’, उनले भने ।
सार्वजनिक यातायात व्यवस्था गर्न बनेको विधेयकमार्फत सार्वजनिक यातायात व्यवसायीका माग पूरा गर्ने सम्झौता गरिएको उनको भनाइ थियो ।
‘यातायात व्यवसायीलाई पनि के भन्न चाहान्छु भने उहाँहरूले यसरी बन्द गरेर जनतालाई दुख दिनु हुँदैन’ उनले भने,’ ‘यातायात व्यवसायीको यो गलत कुरा हो । संघीय कानुनले व्यवस्थित गर्नेबारे गण्डकी प्रदेशलाई प्रधानमन्त्री कार्यालयले पत्राचार गर्ने तयारी हुँदैछ ।’