• जेष्ठ २२ २०८२, बुधबार

सिंहदरबारमा सरकार र यातायात व्यवसायीबीच वार्ता

जेष्ठ २० २०८२, सोमबार

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच वार्ता भएको छ । सोमबारदेखि देशव्यापी रूपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुसँग सरकारले संवाद थालेको हो ।

वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा चलिरहेको गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ । वार्तमा गृहमन्त्री लेखकसहित मन्त्रालयका सचिवहरू र यातायात व्यवसायीहरू सहभागी छन् ।

बिहानैदेखि काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन् । उपत्यकामा मात्रै होइन उपत्यकाबाहिर जाने सवारी साधनहरू पनि ग्यारेजमा थन्किएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यन्वयन गरेपछि सुरू भएको विरोधले देशव्यापी रूप लिएको हो ।

आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट्रक यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुरलगायत यातायात क्षेत्रसँग सम्बद्ध अरू ७ संघसंगठनहरूले सहयोग गरेका छन् । मन्त्रालयमा सोमबार बिहान भएको छलफलमा ती संगठनका प्रतिनिधिहरू पनि सहभागी छन् ।